११ औं संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि साविक विजेता सिराहाको सलहेश युथ क्लबले उचालेको छ।
धनकुटाको राजारानीस्थित राजारानी खेलमैदानमा बुधबार सम्पन्न प्रतियोगितामा साविक विजेता सिराहाको सलहेश युथ क्लबले ट्राइब्रेकरमा ४–२ गोलले आयोजक रारा फुटबल क्लबलाई हराएको हो।
खेलको २५ औं मिनेटमा गोलकिपर प्रदीप भण्डारीले आफ्नो पक्षको गोलपोष्टबाट प्रहार गरेको बल सलहेश गोलकिपर युनिश चौधरीले रोक्न नसक्दा गोेलको खाता खोलेको थियो। खेलको ५५ औँ मिनेटमा सलहेशका फागुराम थारुले गोल गर्दै खेल १–१ को बराबरी पुर्याए।
त्यसपछि खेलमा कुनै गोल नभएपछि खेल सिधै टाई ब्रेकरमा धकेलिएको थियो। सलहेशका जय गुरुङ, आदित्य शाक्य, कुलदिप कार्की र फागुराम थारुले गोल गरे भने आयोजक राराका ताया र शिशिर लेखिले गोल गरे। राराका विशाल घलान तामाङ र राम वाजीको प्रहार सलहेशका गोलकिपर युनिश चौधरी रोकेका थिए। फाइनलको ‘म्यान अफ द म्याच सलहेशका फागुराम थारु बने। उनलेनगद ७ हजार र ट्रफी हात पारे।
उपाधि विजेता सलहेश युथ क्लबले नगद ५ लाख रुपैयाँ तथा गोल्डकप हात पार्यो। उपविजेता रारा फुटबल क्लबले नगद २ लाख ५० हजार रुपैयाँ र रनिङ कपमा चित्त बुझायो। यस्तै खेलको सर्वोत्कृष्ट खेलाडी रारा फुटबलका राम वाजी घोषित हुँदै नगद ५० हजार रुपैयाँ र ट्रफी हात पारे। उत्कृष्ट गोलकिपर सलहेशका युनिश चौधरी र उदयमान खेलाडि राराका विशाल लिम्बू घोषित भए। उनीहरूले जनही ११ हजार रुपैयाँ र ट्रफी पाए।
धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालमा शुरु भएको हो।