चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो यो वर्ष सबैभन्दा बढी कमाउने खेलाडीको सूचीमा पहिलो स्थानमा छन् । फोर्ब्स सार्वजनिक गरेको विश्वमा सर्वाधिक कमाउने खेलाडीको पछिल्लो सूचिमा रोनाल्डो पहिलो स्थानमा रहेका हुन् ।
३९ वर्षीय रोनाल्डो चौथो पटक फोर्ब्स सूचीको पहिलो स्थानमा परेका हुन् । रोनाल्डो हाल अल नासर क्लबबाट साउदी अरबियाको व्यावसायिक लिग खेल्छन् । उनी निकै ठुलो पारिश्रमिकमा साउदी क्लबमा आबद्ध भएका हुन् ।
बिजनेस म्यागजिन फोर्ब्स अनुसार, समकालीन विश्व फुटबलका यी महान् खेलाडीले २६ करोड अमेरिकी डलर कमाएका छन् । उनले पछिल्लो एक वर्षको अवधिमा आफ्नो कमाइ निकै बढाएका छन् । समकालीन विश्व फुटबलका अर्का महान् खेलाडी लियोनल मेसी भने यो सूचिमा तेस्रो स्थानमा छन् ।
अर्जेन्टिनी स्टार मेसी हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्छन् । मेसीले १३ करोड ५० लाख अमेरिकी डलर कमाएका छन् । यो सूचिमा गल्फ खेलाडी जोन रहम २१ करोड ८० लाख डलरसहित दोस्रो स्थानमा छन् ।बास्केटबल खेलाडी लेब्रोन जेम्स १२ करोड ८२ लाख अमेरिकी डलर कमाइसहित चौथो र बास्केटबलमै जियानिस एन्टेटोकुम्पो ११ करोड ११ लाख डलरसहित पाँचौँ स्थानमा छन् । फ्रान्सेली फुटबल स्टार केलियन एमबाप्पे ११ करोड १० लाख डलरसहित छैटौँ स्थानमा छन् ।ब्राजिलियन फुटबलर नेमार १० करोड ८० लाख डलरसहित सातौँ, अर्का फुटबलर करिम बेन्जेमा १० करोड ६० लाख डलरसहित आठौँ, बास्केटबलमा स्टेफन करी १० करोड २० लाख डलरसहित नवौँ र अमेरिकन फुटबलका लामर ज्याक्सन १० करोड ५० हजार अमेरिकी डलरसहित १०औँ स्थानमा आसिन छन् ।