• Saturday, June 21, 2025

प्रश्नै प्रश्न बीच गृहमन्त्री लेखक


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेपछि गृहमन्त्री रमेश लेखकको भूमिकामाथि प्रश्न उठेको छ। गृह मन्त्रालयका उच्च अधिकारीहरूको गतिविधिमाथि अख्तियारले निगरानी र अनुसन्धान थालेको छ।गत बुधबार अख्तियारले भट्टराईसहित तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। भट्टराईका मोबाइल उपकरण जफत गरी डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ, र उनलाई १८ जेठ बयानका लागि बोलाइएको छ। स्रोतका अनुसार, भट्टराईको दुई व्यक्तिसँगको सम्पर्क र कागजात आदानप्रदान शंकास्पद देखिएको छ।अख्तियारले गृहसचिव गोकर्णमणि दुवाडी, सहसचिव छवि रिजाल र अध्यागमन विभागका केही कर्मचारीमाथि पनि शंका गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार, मन्त्री लेखकले संवेदनशील ठाउँहरूमा आफूले चाहेका व्यक्तिलाई नियुक्त गरेको र भट्टराईको गतिविधि राजनीतिक संरक्षणकै कारण सम्भव भएको देखिन्छ।अख्तियार स्रोतका अनुसार, भट्टराईको कार्यालय र निजी नम्बरका मोबाइलसहित अर्को मोबाइल पनि फरेन्सिक जाँचका लागि पठाइएको छ। भट्टराईको सम्पर्कमा रहेका एजेन्टहरू र गृह मन्त्रालयका उच्च अधिकारीहरूको नियमित संवाद रहेको पाइएको छ। भट्टराईले आफ्ना गतिविधिबारे निकटस्थहरूसँग जानकारी साझा गर्दा त्यो अख्तियारसम्म पुगेको थियो। एक व्यक्तिमाथि निगरानी गर्दा ठूलो कारोबार फेला परेपछि अन्य कर्मचारी र एजेन्टहरू पनि अनुसन्धानको दायरामा आउने तयारी छ।पूर्वसचिव शारदाप्रसाद त्रितालले गृहमन्त्री र प्रधानमन्त्री दुवै जवाफदेही हुनुपर्ने बताए। उनले भने, “संवेदनशील ठाउँमा यस्ता गतिविधि हुँदा गृहमन्त्री र प्रधानमन्त्री कसरी बेखबर भए? राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्रीलाई नियमित ब्रिफिङ गर्छ, यस्तो धन्दाबारे किन सूचना आएन?”भट्टराईलाई संवेदनशील अध्यागमन कार्यालयमा खटाउने र विवादमा मुछिएकालाई सचिवालयमा राख्ने मन्त्री लेखकको निर्णयमाथि शंका बढे पनि अख्तियारले उनलाई अनुसन्धानको दायरामा ल्याउने तयारी गरेको छैन।

Please Login to comment in the post!

you may also like