बुर्किना फासोको सैनिक सरकारले देशका वर्तमान नेता क्याप्टेन इब्राहिम ट्राओरेको हत्या गर्ने षड्यन्त्र असफल बनाइएको दाबी गरेको छ।
सुरक्षा मन्त्री महामादु सानाले राष्ट्रिय टेलिभिजनमार्फत दिएको वक्तव्यमा पूर्व सैनिक शासक लेफ्टिनेन्ट कर्नेल पॉल हेन्री डामिबाले यो षड्यन्त्र रचेको आरोप लगाएका छन्। डामिबालाई सेप्टेम्बर २०२२ मा क्याप्टेन ट्राओरेले सत्ता पल्टाएर हटाएका थिए।
मन्त्री सानाका अनुसार गुप्तचर निकायले अन्तिम क्षणमा यो योजना पत्ता लगाएको हो। योजनाअनुसार राष्ट्रपति ट्राओरेको हत्या गरेर त्यसपछि अन्य प्रमुख सैनिक तथा नागरिक संस्थामाथि आक्रमण गर्ने तयारी गरिएको थियो। उनले यस षड्यन्त्रमा छिमेकी देश आइभोरी कोस्टबाट आर्थिक सहयोग प्राप्त भएको समेत आरोप लगाए।
सुरक्षा मन्त्रीले सार्वजनिक गरेको विवरणअनुसार, योजनाकारहरूले ३ जनवरी शनिबार राति करिब ११ बजे राष्ट्रपति निवास नजिक बम विस्फोट गराउने वा नजिकबाट गोली हानेर हत्या गर्ने योजना बनाएका थिए। त्यसपछि अन्य उच्च पदस्थ अधिकारीहरूलाई लक्षित गर्ने तयारी पनि गरिएको थियो।
सरकारले षड्यन्त्रसँग सम्बन्धित एक गोप्य भिडियो समेत फेला पारेको जनाएको छ, जसमा संलग्न व्यक्तिहरूले आफ्नो योजना बारे छलफल गरिरहेको देखिन्छ। साथै, आइभोरी कोस्टबाट करिब ७० मिलियन CFA फ्रान्क (करिब १ लाख २५ हजार अमेरिकी डलर) सहयोग आएको दाबी पनि गरिएको छ।
यस घटनासँग सम्बन्धित केही व्यक्तिहरूलाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको मन्त्री सानाले बताएका छन्। यद्यपि कति जनालाई नियन्त्रणमा लिइएको हो भन्ने स्पष्ट गरिएको छैन।
पूर्व नेता डामिबा हाल टोगोमा निर्वासनमा रहेका छन्। उनले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। आइभोरी कोस्टले पनि आरोपको खण्डन वा समर्थनमा औपचारिक प्रतिक्रिया जनाएको छैन।
क्याप्टेन ट्राओरे सत्तामा आएयता कम्तीमा दुई पटक कू प्रयासको सामना गरिसकेका छन्। देश अहिले पनि जिहादी हिंसाबाट ग्रस्त छ, जसका कारण लाखौँ मानिस विस्थापित भएका छन्। यद्यपि, उनी प्यान–अफ्रिकन विचारधाराका कारण देशभित्र र बाहिर लोकप्रिय रहेका छन्।
विश्लेषकहरूका अनुसार यस्ता आन्तरिक शक्ति संघर्षहरूले पश्चिम अफ्रिकामा क्षेत्रीय तनाव अझ बढाउने सम्भावना छ।