नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरूका परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका निवर्तमान मन्त्री तथा प्राधिकरण सञ्चालक समिति (बोर्ड)का अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा बसेको बोर्ड बैठकले शहीद परिवारका २७ जनालाई रोजगारी दिने निर्णय गरेको हो।
भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूलाई सरकारले शहीद घोषणा गरेपछि सरकार र आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता तथा मन्त्रिपरिषद्बाट स्वीकृत कार्यविधिअनुसार रोजगारी दिने व्यवस्था गरिएको हो। निवेदन दिएका शहीद परिवारका सदस्यलाई उनीहरूको शैक्षिक योग्यताको आधारमा पायक पर्ने कार्यालयमा बढीमा तीन तहसम्मको पदमा करार नियुक्त गरिने प्राधिकरणले जनाएको छ।