काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी विशेष महाधिवेशनबाट पार्टी विभाजन नहुने स्पष्ट पारेका छन् । यदि कुनै कारणले पार्टी फुट्ने अवस्था आयो भने आफू सबैभन्दा पहिला महाधिवेशन हलबाट बाहिरिने बताएका छन् ।
काठमाडौंमा पुस २७ र २८ गतेका लागि आह्वान गरिएको विशेष महाधिवेशनबारे चर्किँदै गएको विवादबीच महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, “विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन । यदि त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबैभन्दा पहिला म बाहिर निस्कनेछु ।”
विशेष महाधिवेशन आयोजना गर्ने विषयमा पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा भइसकेको छ । सो महाधिवेशनमा महामन्त्री शर्मा र अर्का महामन्त्री गगन थापा सहभागी हुने जनाइसकेका छन् ।
कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनको विपक्षमा देखिएको छ भने महामन्त्रीद्वय शर्मा–थापा पक्षले जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गर्दै आएका छन् ।
महामन्त्री शर्माले बदलिएको राष्ट्रिय परिस्थिति, नयाँ चुनौती र पार्टीको दायित्वका कारण विशेष महाधिवेशन आवश्यक भएको बताएका छन् । “आजको नेपाल भदौ २३ अघिको नेपाल होइन,” भन्दै उनले नयाँ दृष्टि, योजना र संकल्पका लागि विशेष महाधिवेशन अपरिहार्य भएको तर्क गरेका छन् ।
विशेष महाधिवेशनको माग गर्दै कांग्रेस महाधिवेशन प्रतिनिधिहरूले चलाएको हस्ताक्षर अभियानमा ४० प्रतिशतभन्दा बढीको समर्थन जुटेकाले विधानअनुसार विशेष महाधिवेशन गर्नैपर्ने शर्माको भनाइ छ । कांग्रेस विधानको धारा १७(२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको लिखित माग आए तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था रहेको उनले स्मरण गराएका छन् ।
हस्ताक्षर नगरेका प्रतिनिधिहरू पनि विशेष महाधिवेशनमा सहभागी हुन पाउने उनले स्पष्ट पारेका छन् ।
महाधिवेशनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नकारात्मक असर नपार्ने दाबी गर्दै शर्माले विशेष महाधिवेशनपछि कांग्रेसले निर्वाचनमा राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गरेका छन् । “मुर्झाएर बसेको कांग्रेसभन्दा जुर्मुराएर मैदानमा उत्रिएको कांग्रेसले राम्रो परिणाम दिन्छ,” उनले उल्लेख गरेका छन् ।
विशेष महाधिवेशनलाई “बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि” संकल्पको रूपमा लिन उनले पार्टी पंक्तिलाई अपिल गरेका छन् ।