• Monday, May 25, 2026

त्रिभुवन विमानस्थलको आपतकालिनव्यवस्थापनमा गम्भीर प्रश्न: तयारी कागजमा, व्यवहारमा अस्तव्यस्तता



काठमाडौं ।काठमाडौंस्थित मुलुकको एक मात्र प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र आपतकालीन व्यवस्थापन पुनः एकपटक प्रश्नको  घेरामा तानिएको छ। सोमबार बिहान टर्किस एयरलाइन्सको जहाजमा देखिएको सामान्य प्राविधिक समस्या र त्यसपछि उत्पन्न अन्योलले नेपालको नागरिक उड्डयन क्षेत्रमा रहेको संरचनागत र व्यवस्थापकीय कमजोरीलाई नराम्रोसँग उदाङ्गो पारेको छ। यो घटना केवल एउटा जहाजको टायरबाट धुवाँ निस्किएको विषय मात्र नभई, संकटका बेला विमानस्थल प्रशासन कसरी असक्षम सावित हुन्छ भन्ने एउटा ताजा उदाहरण बनेको छ।

के भएको थियो सोमबार बिहान?

इस्तानबुलबाट २७८ यत्रु र ११ चालक दल सहित  टर्किस एयरलाइन्सको टीके–७२६ उडान बिहान साढे ६ बजे अवतरण गरेर ट्याक्सी–वे ‘ब्राभो’ हुँदै पार्किङतर्फ मोडिने क्रममा थियो। सोही समयमा जहाजको एउटा टायरबाट धुवाँ निस्किएको कन्ट्रोल  टावरमा रहेका नियन्त्रकहरूले देखे। उनीहरूले तत्काल पाइलटलाई सचेत गराए। सम्भावित हाइड्रोलिक चुहावट वा आगलागीको जोखिमलाई मध्यनजर गर्दै पाइलटले सम्बन्धित इन्जिनको पावर कट गरे। विमानस्थलको फायर ब्रिगेड घटनास्थलमा पुग्यो र ड्राइ केमिकल पाउडर प्रयोग गरेर धुवाँ नियन्त्रणमा लियो। यात्रुहरूलाई इमर्जेन्सी एक्जिटबाट निकाल्ने तयारी समेत भयो। तर, यसपछिको घटनाक्रम झन् रहस्यमय र अस्तव्यस्त देखियो।

सूचना व्यवस्थापनमा चरम लापर्बाही

कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थलमा संकट आइपर्दा आधिकारिक सूचना प्रवाह सबैभन्दा महत्त्वपूर्ण पक्ष हुन्छ। तर, सोमबार विमानस्थल प्रशासन पूर्णतः मौन रह्यो। जहाजभित्र रहेका यात्रु र विमानस्थलमा उड्न ठिक्क परेका अन्य सयौँ यात्रुहरू के भइरहेको छ भन्ने भेउ पाउन नसकेर अन्योलमा परे। आधिकारिक सूचना अधिकारी वा विमानस्थल प्रमुखले यथार्थ जानकारी दिनुको साटो सञ्चारमाध्यममा “उच्च स्रोत” र “सुरक्षाकर्मी” का फरक–फरक भनाइहरू बाहिर आए। कसैले यसलाई सामान्य तातिएको भने त कसैले ठुलै दुर्घटना टरेको दाबी गरे। यसले यात्रुहरूमा त्रास मात्र फैलाएन, नेपालको हवाई सुरक्षाप्रति अन्तर्राष्ट्रिय समुदायमा जाने सन्देशलाई समेत धुमिल बनायो।

विशेषगरी युरोपियन युनियनले नेपाली हवाई सेवालाई वर्षौँदेखि ‘कालोसूची’ मा राखिरहेको सन्दर्भमा यस्ता संवेदनशील घटनामा पारदर्शी सूचनाको अभाव हुनु लज्जास्पद विषय हो। आधिकारिक संयन्त्रले सत्यतथ्य समयमै बाहिर ल्याएको भए न त हल्ला चल्ने थियो, न त यात्रुहरूमा असुरक्षाको भावना पैदा हुने थियो।

कागजी अभ्यास र फितलो कार्यान्वयन

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रत्येक वर्ष करोडौँ खर्च गरेर विमानस्थलमा ‘इमर्जेन्सी ड्रिल’ वा आपतकालीन अभ्यास गर्छ। तर, सोमबारको घटनाले ती अभ्यासहरू केवल फोटो खिच्न र रिपोर्ट बनाउनमा मात्र सीमित रहेको पुष्टि गरेको छ। विमानस्थलभित्र रहेको “इमर्जेन्सी अपरेटिङ सेन्टर” यस्ता बेला सक्रिय हुनुपर्नेमा त्यसको उपस्थिति कतै देखिएन। केही समयअघि भएको सौर्य एयरलाइन्सको दुर्घटनामा पनि उद्धार टोली हिलो र विमानस्थलभित्रै छरिएका निर्माण सामग्रीका कारण समयमा पुग्न नसकेको कटु सत्य ्त्यो बेलाको अध्य्यन प्रतिबेदन ले देखाएको थियो। धावनमार्ग नजिकै रहेका आयोजनाका सामग्रीहरूले उद्धारमा अवरोध पुर्‍याउनु विमानस्थल प्रशासनको अदूरदर्शिताको पराकाष्ठा हो।

सुरक्षा संयन्त्रमा छिद्र र विदेशी अविश्वास

विमानस्थलको आन्तरिक सुरक्षा कति कमजोर छ भन्ने कुरा विगतका केही घटनाले प्रष्ट पार्छन्। केही समयअघि भएको ‘जेन जेड’ आन्दोलनका क्रममा सुरक्षाकर्मीहरू अन्यत्र मोडिनेबित्तिकै सर्वसाधारण यात्रुहरू सिधै जहाज पार्किङ गर्ने संवेदनशील क्षेत्रसम्म पुगेका थिए। यो एउटा गम्भीर सुरक्षा चुहावट थियो। यही कमजोरीका कारण अहिले पनि भारतीय वायुसेवा (इन्डिगो, एयर इन्डिया आदि) ले नेपालको सुरक्षा जाँचमा विश्वास नगरेर जहाजको ढोकामा पुग्नुअघि पुनः आफ्नै सुरक्षाकर्मीमार्फत यात्रुहरूको जाँच गराउने गरेका छन्। यो नेपालको सुरक्षा प्रणालीमाथि लागेको एउटा ठुलो अन्तर्राष्ट्रिय प्रश्नचिह्न हो।

सौन्दर्यकरण भर्सेस सुरक्षा

विमानस्थलका उच्च तहका अधिकारीहरूको ध्यान अहिले सुरक्षा र प्रविधिभन्दा पनि बाहिरी चमकधमक र ‘कस्मेटिक’ सुधारमा बढी केन्द्रित देखिन्छ। शौचालय सफा राख्नु र गार्डेन बनाउनु राम्रो कुरा हो, तर एउटा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो प्राथमिकता हवाई सुरक्षा र चुस्त व्यवस्थापन हुनुपर्छ। विमानस्थललाई केवल आम्दानीको स्रोत र सरसफाइको थलोका रूपमा मात्र हेरिने प्रवृत्तिले प्राविधिक र सुरक्षा पक्ष सधैँ ओझेलमा परिरहेका छन्।

विमानस्थल भनेको देशको ऐना हो। त्यहाँ हुने सानोभन्दा सानो त्रुटीले मुलुकको छवि र पर्यटन उद्योगमा दीर्घकालीन नकारात्मक असर पार्न सक्छ। सोमबारको टर्किस एयरलाइन्सको घटनाले हामीलाई सचेत गराएको छ— यदि हामीले सूचना व्यवस्थापन, उद्धार तयारी र सुरक्षा प्रणालीलाई आधुनिक र पारदर्शी बनाउन सकेनौँ भने अर्को ठुलो विपत्ति टार्न मुस्किल हुनेछ। प्राधिकरणले अब ‘ड्रिल’ मात्र होइन, वास्तविक संकट व्यवस्थापनको क्षमता बढाउनु जरुरी छ। अन्यथा, अन्तर्राष्ट्रिय जगतले नेपाली आकाशलाई असुरक्षित मानिरहने र हाम्रा विमानस्थलहरू ‘अस्तव्यस्तताको नमुना’ बनिरहने खतरा सधैँ कायमै रहन्छ।

Please Login to comment in the post!

you may also like