अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालसँगै चर्चामा आएको नाम हो— ड्यान ड्रिस्कोल। उपराष्ट्रपति जेडी भान्ससँगको व्यक्तिगत सम्बन्धका कारण ट्रम्पको नजिकिएको भनिने ड्रिस्कोल अहिले अमेरिकी सेनाका सचिव मात्र होइन, अन्तर्राष्ट्रिय कूटनीति र युक्रेन युद्ध शान्ति–प्रक्रियामा समेत प्रभावशाली व्यक्तित्वका रूपमा उभिएका छन्।भान्सजस्तै सार्वजनिक विश्वविद्यालयबाट स्नातक भएका ड्रिस्कोलले अमेरिकी सेनामा सेवा दिएपछि प्रतिष्ठित येल विश्वविद्यालयबाट कानुनको डिग्री हासिल गरेका थिए। २००७ मा अधिकृत बनेका उनले २००९ मा इराकमा क्याभलरी प्लाटुनको नेतृत्वसमेत गरे।येलमा पढ्दासमय भएको परिचयले ड्रिस्कोल र भान्सबीच मित्रता गहिरिँदै गयो। भान्सले नयाँ विद्यार्थीहरूलाई ‘पहिलो केही महिना आफू यहाँ मिल्दैनजस्तो लाग्छ तर पछि राम्रोसँग उत्रिन्छौं’ भन्दै हौसला दिएको स्मरण ड्रिस्कोलले विभिन्न सञ्चारमाध्यममा गरेका छन्।
सन् २०२4 को गर्मीमा परिवारसँग स्विट्जरल्यान्डमा बिदामा रहेका बेला भान्सको फोन आयो—उनी ट्रम्पको रनिङ–मेट हुँदै थिए र ड्रिस्कोललाई अभियानमा सहभागी हुन आग्रह गरे।भोलिपल्टै अमेरिकामा फर्किएका ड्रिस्कोलले आउटलेट मालबाट सूट किने, उबर चढे र सीधै रिपब्लिकन नेशनल कन्वेन्सन पुगे— उनले उक्त अनुभव नर्थ क्यारोलिना विश्वविद्यालयको पत्रिकामा सुनाएका छन्।ट्रम्प पुनः सत्तामा फर्किएपछि ड्रिस्कोल छिट्टै सेना सचिवका रूपमा सिनेटबाट अनुमोदित भए। त्यसपछि राष्ट्रिय गार्डको तैनाथीमा उनको भूमिका बढ्यो र पछि उनले ATF (Alcohol, Tobacco, Firearms and Explosives) का कार्यकारी निर्देशकसमेत बने।युक्रेन युद्धबारे प्रायः टिप्पणी गरिरहने ड्रिस्कोल सुरक्षा प्रविधि र सस्ता ड्रोन क्षमताबारे खुलेर बोल्ने गर्छन्। तर सुरुमा उनी शान्ति–वार्तामा संलग्न थिएनन्।ट्रम्पले प्रारम्भिक रूपमा विशेष दूत स्टिभ विट्कफलाई युद्ध अन्त्यबारे २८ बुँदे योजना तयार गर्न लगाएका थिए। तर उक्त योजना चुहावट भएपछि युक्रेन र युरोपेली सहयोगी राष्ट्रहरूले कडा आपत्ति जनाए।यही बीच ड्रिस्कोल अन्य उच्च–पदस्थ पेन्टागन अधिकृतहरूसँग अघोषित रूपमा कीभ पुगे— ट्रम्प पदमा फर्किएपछि त्यहाँ यात्रा गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी टोली यही थियो। त्यहाँ उनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसमेतसँग भेट गरे।लगत्तै जिनेभामा सेक्रेटरी अफ स्टेट मार्को रुबियो, विट्कफ र ट्रम्पका ज्वाइँ जेरेड कुशनरसहित उनले ‘अद्यावधिक शान्ति–ढाँचा’ तयार गर्न सहयोग पुर्याए।पछि उनी अबु धाबीमा रुसका अधिकारीसँग पनि छलफलमा बसेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।ट्रम्पले मंगलवार सामाजिक सञ्जालमा लेखे अनुसार, शान्ति–योजना अन्तिम रूप दिन विट्कफलाई मास्को पठाइनेछ भने ड्रिस्कोल युक्रेनी पक्षसँग छलफललाई नेतृत्व गर्नेछन्।सेना सचिवका रूपमा नियुक्त गर्दा ट्रम्पले ड्रिस्कोललाई “परिवर्तनकर्ता र प्रणाली हल्लाउने क्षमता भएको व्यक्ति” भन्दै उच्च मूल्यांकन गरेका थिए।यसपछि वाशिङ्टनमा चर्चा चल्न थालेको छ— यदि रक्षा सचिव पिट हेग्सेथले पद छाडे, ड्रिस्कोल उनीकै स्थानमा पुग्ने सम्भावना बढ्दो छ।२०२० मा उनले नर्थ क्यारोलिनाबाट प्रतिनिधि सभा सदस्य बन्ने प्रयास गरेका थिए, यद्यपि असफल भए। तर उनका पूर्व प्राध्यापकले ड्रिस्कोलको दीर्घकालीन लक्ष्य “सेनामा सेवा, कानुन अध्ययन र राजनीति” भएको बताएका छन्।युक्रेनका लागि विशेष दूत कीथ केलोग जनवरीमा अवकाश लिँदैछन्, र ड्रिस्कोल आधिकारिक रूपमा उनीकै जिम्मेवारी लिन सक्ने चर्चा पनि बढेको छ।ड्रिस्कोललाई प्राविधिक–केन्द्रित सेना निर्माणको पक्षधर मानिन्छ।उनी भन्दछन्— “निकट भविष्यमा हरेक सैनिकले युद्धमै एक–एक ड्रोन बोकेर जानेछन्। मानव दिमागले युद्धको गतिसँग जुध्न नसक्ने भएकाले एआई अपरिहार्य बन्छ।”अक्टोबरमा दिएको एक भाषणमा उनले भनेका थिए—“हामी परिवर्तनको निर्णायक क्षणमा छौँ। अब जित सिलिकन र सफ्टवेयरले दिलाउनेछ— सैनिकको रगत र शरीरले होइन।”