नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङस्थित नेपाल–चीन सीमानाका कोरलालाई थप व्यवस्थित र स्तरोन्नति गर्न सरकारसँग आग्रह गरेका छन्। आइतबार गण्डकी प्रदेश समिति र जिल्ला उद्योग वाणिज्य सङ्घका नेतृत्वसँग नाकाको निरीक्षणपछि उनले यो नाकाले नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग बन्न सक्ने बताए।“कालीगण्डकी करिडोर निर्माण सम्पन्न भएपछि कोरला नाका त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविधिको केन्द्र बन्नेछ,” ढकालले भने। उनले भन्सार कार्यालयलाई व्यवस्थित गर्न, अध्यागमन सेवा तत्काल सुरु गर्न र आवश्यक पूर्वाधार निर्माणमा जोड दिन सरकारलाई सुझाए।
मात्र १२ दिनअघि सञ्चालनमा आएको कोरला भन्सारबाट १ अर्ब ४० करोड राजस्व सङ्कलन भएको तथ्यले नाकाको महत्त्व झल्काउँछ। ढकालका अनुसार, ल्हासाबाट एकै दिनमा कोरलासम्म पुग्न सकिने भएकाले चिनियाँ पर्यटक र मानसरोवर यात्राका लागि यो छोटो र सुविधाजनक मार्ग बन्न सक्छ। गत वर्ष मुस्ताङमा करिब ७ लाख पर्यटक भित्रिएको तथ्याङ्क उल्लेख गर्दै उनले मुक्तिनाथ, दामोदरकुण्ड र मानसरोवर यात्रालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने बताए।ढकालले कोरला नाकामा भन्सार र अध्यागमनका लागि बिजुली, पानी, इन्टरनेटजस्ता आधारभूत सुविधा र कर्मचारी व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए। माथिल्लो मुस्ताङ प्रवेशका लागि विदेशी पर्यटकले तिर्नुपर्ने ५०० अमेरिकी डलर शुल्क अव्यवहारिक रहेको भन्दै तत्काल पुनर्विचार गर्न पनि उनले आग्रह गरे। साथै, केही तल निचुङमा सरकारी कार्यालय र पूर्वाधार निर्माण गरेर स्थायी व्यवस्थापन गर्न सकिने उनको सुझाव छ।ढकालले कालीगण्डकी करिडोर छिटो सम्पन्न गर्न र कोरला नाकालाई दिगो रूपमा सञ्चालन गर्न निजी क्षेत्रले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए। “यो नाकाले नेपालको आर्थिक समृद्धिमा ठूलो योगदान दिन सक्छ,” उनले भने।कोरला नाकाको विकासले नेपालको व्यापार र पर्यटन क्षेत्रमा नयाँ सम्भावना खोल्ने देखिन्छ। सरकार र निजी क्षेत्रको सहकार्यले यो नाकालाई त्रिदेशीय समृद्धिको सेतु बनाउन सकिन्छ।