न्युयोर्क, ७ नोभेम्बर २०२५ – बस चढ्छन्, रेलमा यात्रा गर्छन्, साइकलमा हुइँकिन्छन्। भोक लागे सडक पेटीमा बसेर ठेलावालाको सस्तो ‘चिकेन ओभर राइस’ हातले खान्छन्। कसैले चिने मुसुक्क हाँस्छन्, मीठो बोल्छन्। जीवनशैलीमा गरिखाने वर्गसँग ‘डिट्टो’। यिनै ३४ वर्षीय र्यापर जोहरान म्यानिंग अमेरिकाको सबैभन्दा शक्तिशाली स्थानीय पद – न्युयोर्क सिटी मेयर – मा पुग्ने इतिहासकै पहिलो मुस्लिम बनेका छन्।
अमेरिकी राष्ट्रपति पछिको ‘सेकेन्ड मोस्ट पावरफुल एक्जेक्युटिभ’ मानिने यो पद आर्थिक स्रोत परिचालन र प्रशासनिक आकारका कारण विश्वकै सबैभन्दा धनी शहरको नेतृत्व हो। राष्ट्रिय राजनीतिमा हाम फाल्नेहरूका लागि यो ‘ट्रान्जिट स्टेसन’ पनि हो। जोहरानलाई यहाँसम्म जनताले पुर्याएका हुन् – ‘सबैले धान्न सक्ने (एफोर्डेबल) न्युयोर्क सिटी’ नारासहित।
८५ लाख जनसंख्या भएको शहरमा १२–१४ लाख खाद्य संकटमा छन्। रबिनहुड फाउन्डेसनका अनुसार २५ प्रतिशत (हरेक चारमध्ये एक) चरम गरिबीसँग जुझिरहेका छन्। कोर्नेल आइएलआरका अनुसार ६० प्रतिशतको कमाइ ‘लिभिङ वेज’भन्दा कम छ। आप्रवासीहरूमा बेरोजगारी कहालीलाग्दो छ – ट्रेन स्टेसनमा ‘म्याङ्गोम्याङ्गो’ कराउने आमाहरू, ज्याक्सनहाइट्समा ‘नेसेसिता त्राभाहादोर?’ (कामदार चाहिएको?) भन्दै झ्यालमा आउने ‘अमिगो’हरू।
अमेरिकी ‘पोभर्टी गाइडलाइन’ १९६३–६४ कै हो, आवास भाडा समेटिएको छैन। न्यूनतम पारिश्रमिक बढाउन अरबपतिहरूको नाफा घट्ने डर। पुँजीवादी दोहनमा आधारित अर्थतन्त्रले श्रमजीवीको कमाइ किस्ता, क्रेडिट कार्ड ब्याज, भाडा, इन्सुरेन्समा सकिन्छ। प्रणालीगत रङ्गभेदले थप घाउ दिन्छ – कार्यस्थलमा कुटिएका नेपालीलाई ११ हजार डलर क्षतिपूर्ति दिएर बिदा गर्ने न्याय।
जोहरानको अभियानमा ५० हजार (प्राथमिक) र ९० हजार (आम निर्वाचन) स्वयंसेवक परिचालित भए। एक दिनमै २ लाख ‘डोर नकिङ’ रेकर्ड। नेपालीहरूले घरदैलो, फोन ब्याङ्किङ, पोस्टर टाँस, सभा–जुलुसमा साथ दिए। ४० नेपाली स्वयंसेवक प्राथमिकमा खटिए, २,५०० रजिस्टर्ड डेमोक्र्याट नेपाली मतदातासम्म पुगे। ड्रम बिट्सका आदित सिवाकोटी र गीता अधिकारीको नेतृत्व उल्लेखनीय।
केही नेपालीले ‘मुस्लिम’ भनेर नकारे, एन्ड्रयु कुमोलाई भोट दिने बताए। तर मठ, मन्दिर, चर्चसम्म जोहरानको सन्देश पुग्यो। टिनएजर्सले बाबुआमालाई दबाब दिए – इन्दिरा राईका छोरा नेथनले ‘जोहरानलाई भोट दिनुपर्छ’ भनेर हैरान पारे। दक्षिण एसियाली युवाको भोट ६० प्रतिशत बढ्यो, निर्णायक बन्यो।
जोहरानले अरबपति–ल्यान्डलर्डको चन्दा अस्वीकार गरे, १०/२० डलरबाट चन्दा उठाए। धनीको कर बढाउने, २०३० सम्म न्यूनतम ज्याला १६.५ बाट ३० डलर पुर्याउने वाचा। यसले अरबपतिहरूको ‘सुपर–प्याक’लाई चुनौती दियो। ट्रम्पले कर्टिस स्लिवा र एरिक आडम्सलाई पदको प्रलोभन दिएर पछि हटाउन खोजे। आडम्स हटे, स्लिवा मानेनन् – ‘मेयर जनताले छान्छन्, अरबपतिले होइन’ भने।ग्रासरुटले जित्यो। डेमोक्रेटिक सोसलिज्मको भुईँचालोले ओबामा–क्लिन्टन युगको मध्यमार्गी नीति ध्वस्त पार्यो। एओसी, कोरी बुस, इल्हान ओमारले जोहरानलाई ‘नीति नायक’ भने। यो जीत आप्रवासी–श्रमजीवीको विद्रोह, ९/११ पछिको मुस्लिम दृष्टिकोण परिवर्तन र अल्पसंख्यक सम्मान हो।