तेहरान। इरानमा यसै महिनाको सुरुआतमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको अभूतपूर्व दमनपछि अस्पतालमा शव थुपारिएका, भवनमाथि स्नाइपर तैनाथ गरिएको र सीसीटीभी क्यामेरा नष्ट गरिएको दृश्य देखाउने प्रमाणित भिडियोहरू सार्वजनिक भएका छन्। बीबीसी भेरिफाइले ती भिडियोहरू प्रमाणीकरण गर्दै इरानमा भएको हिंसात्मक दमनको अवस्था उजागर गरेको हो।गत डिसेम्बरको अन्त्यदेखि सुरु भएका प्रदर्शनहरूको निगरानी गर्दै आएको बीबीसी भेरिफाइका अनुसार, इरानी अधिकारीहरूले करिब पूर्ण इन्टरनेट बन्द लागू गरेकाले प्रदर्शनको वास्तविक अवस्था र मृतकको संख्या पुष्टि गर्न अत्यन्त कठिन भएको छ। यद्यपि, अमेरिकामा आधारित मानवअधिकार संस्था ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी (एचआरएएनए) ले प्रदर्शन सुरु भएयता करिब ६ हजार जनाको मृत्यु पुष्टि गरेको दाबी गरेको छ। तीमध्ये ५,६३३ जना प्रदर्शनकारी रहेको उल्लेख गरिएको छ। संस्थाले इन्टरनेट बन्दका बाबजुद प्राप्त १७ हजार थप मृत्युको विवरणबारे अनुसन्धान भइरहेको जनाएको छ।
नर्वेमा आधारित ‘इरान ह्युमन राइट्स’ संस्थाले भने मृतकको संख्या २५ हजारभन्दा बढी हुन सक्ने चेतावनी दिएको छ। उता, इरानी सरकारले गत साता ३,१०० भन्दा बढीको मृत्यु भएको स्वीकार गरेको भए पनि तीमध्ये अधिकांश सुरक्षा निकायका सदस्य वा ‘दंगाकारी’को आक्रमणमा परेका सर्वसाधारण रहेको दाबी गरेको छ।हाल सार्वजनिक भएका अधिकांश भिडियोहरू जनवरी ८ र ९ मा खिचिएका मानिन्छन्। ती दिन पूर्व शाहका निर्वासित छोरा रेजा पहलवीले देशव्यापी प्रदर्शनको आह्वान गरेपछि हजारौँ मानिस सडकमा उत्रिएका थिए। ती दिनहरू अहिलेसम्मकै सबैभन्दा घातक भएको अनुमान गरिएको छ।बीबीसी भेरिफाइ र बीबीसी पर्सियनले विश्लेषण गरेका भिडियोहरूमा पूर्वी तेहरानस्थित तेहरानपार्स अस्पतालको शवगृहभित्र शवहरू थुपारिएको देखिन्छ। अस्पतालको आन्तरिक संरचना अन्य सार्वजनिक तस्बिरहरूसँग मिलाएर स्थान पुष्टि गरिएको बीबीसीले जनाएको छ। एउटा भिडियोमै कम्तीमा ३१ वटा शव देखिएका छन् भने अर्को भिडियोमा अस्पताल बाहिर सातवटा शव झोला राखिएको देखिन्छ।
पश्चिमी तेहरानको एउटा राजमार्गमा सयौँ प्रदर्शनकारी भेला भएको दृश्यसमेत भिडियोमा देखिन्छ, जहाँ अचानक गोली चलेपछि मानिसहरू चिच्याउँदै भाग्न थालेको सुनिन्छ। केही भिडियोमा प्रदर्शनकारीहरूले निगरानीबाट जोगिन सीसीटीभी क्यामेरा तोडफोड गरेको पनि देखिएको छ। राजधानी तेहरानमा एक व्यक्तिले पोलमा चढेर सीसीटीभी क्यामेरा प्रहार गर्दा तल ठूलो भीडले जयकार गरेको दृश्य प्रमाणित भएको छ।बीबीसी भेरिफाइले इरानका ७१ भन्दा बढी सहर तथा गाउँमा प्रदर्शन फैलिएको पुष्टि गरेको छ, यद्यपि वास्तविक संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ। दक्षिण–पूर्वी सहर केरमानमा खिचिएको एउटा भिडियोमा सैनिक पोसाकमा रहेका सशस्त्र व्यक्तिहरूले सडकमा हिँड्दै लगातार गोली चलाइरहेको देखिन्छ। उनीहरूले कसलाई निशाना बनाइरहेका छन् भन्ने स्पष्ट छैन।उत्तर–पूर्वी सहर मशहदमा भवनको छतमाथि स्नाइपर तैनाथ गरिएको दृश्य पनि प्रमाणित भएको छ। दिनको उज्यालोमा कालो कपडा लगाएका दुई व्यक्ति छतमा देखिन्छन्, जहाँ एक जनाको छेउमा ठूलो राइफल राखिएको छ।जनवरी ८ यतादेखि इरानमा लगभग पूर्ण इन्टरनेट बन्द लागू गरिएको छ। यद्यपि केही नागरिकले स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट र भर्चुअल प्राइभेट नेटवर्क प्रयोग गरी अस्थायी रूपमा इन्टरनेट पहुँच गरेको बताइएको छ। इन्टरनेट बन्दका कारण अर्थतन्त्रसमेत प्रभावित भएकाले आगामी दिनमा थप भिडियोहरू सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ।