वाशिङ्टन। अमेरिकाका विभिन्न राज्यमा आएको शक्तिशाली शीतकालीन आँधीका कारण कम्तीमा एक दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने हजारौँ उडानहरू रद्द तथा ढिला भएका छन्। टेक्सासदेखि उत्तर–पूर्वी राज्य मेनसम्म फैलिएको आँधीले सडक अवरुद्ध गरेको, विद्युत् आपूर्ति ठप्प पारेको र प्रमुख सहरहरूलाई बाक्लो हिउँले ढाकेको छ।राष्ट्रिय मौसम सेवा (एनडब्लुएस) का अनुसार पछिल्लो २४ घण्टामा उत्तर–पूर्वी क्षेत्रका केही स्थानमा २० इन्च (५०.८ सेमि) भन्दा बढी हिउँ परेको छ। यस आँधीको प्रभाव क्यानडासमेत पुगेको छ। क्यानडाली अधिकारीहरूले दक्षिणी ओन्टारियोमा जनजीवन गम्भीर रूपमा प्रभावित भएको बताएका छन्।मौसमविद्हरूले यसै साताको अन्त्यतिर पूर्वी अमेरिकामा अर्को ‘महत्त्वपूर्ण शीतकालीन आँधी’ आउन सक्ने चेतावनी दिएका छन्। यसले अत्यधिक चिसो र व्यापक वर्षा तथा हिमपात गराउन सक्ने अनुमान गरिएको छ।
टेनेसी राज्यमा सोमबार दिउँसोसम्म करिब दुई लाखभन्दा बढी मानिस विद्युत् सेवा विहीन भएका थिए। तीव्र चिसोका कारण धेरै स्थान अन्धकारमा डुबेका छन्। न्याशभिल रेस्क्यु मिसन नामक आश्रयस्थलकी उपाध्यक्ष जोय फ्लोरेसले सडकमा ढलेका रुख र अवरुद्ध विद्युत् लाइनका कारण आवागमन असम्भव भएको बताइन्। उनले आफ्नै घरमा पनि तताउने सुविधा, इन्टरनेट र कफीसमेत नभएको जनाएकी छन्।न्यूयोर्क सिटीमा शुक्रबारदेखि सोमबार बिहानसम्म आठ जनाको मृत्यु भएको सहरका अधिकारीहरूले पुष्टि गरेका छन्। अत्यधिक चिसोका कारण तापक्रम शून्यभन्दा निकै तल झरेको थियो। राष्ट्रिय मौसम सेवाका अनुसार सेन्ट्रल पार्कमा सोमबार बिहानसम्म ११.४ इन्च हिउँ जमेको छ।टेक्सासमा स्लेजिङ (हिउँमा चिप्लिने खेल) दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ भने अर्की गम्भीर अवस्थामा रहेको फ्रिस्को प्रहरी विभागले जनाएको छ। उत्तर क्यारोलिनाको बन्कोम्ब काउन्टीमा एक पुरुष राजमार्गको छेउमा मृत अवस्थामा फेला परेका छन् र उनको मृत्यु मौसमसँग सम्बन्धित हो कि होइन भन्ने विषयमा अनुसन्धान भइरहेको छ। लुइजियानाको स्वास्थ्य विभागका अनुसार हाइपोथर्मियाका कारण दुई जनाको मृत्यु भएको छ।
क्यानडामा ओटावा र क्युबेक क्षेत्रमा आँधीको सबैभन्दा बढी असर परेको छ, जसका कारण यातायात अवरुद्ध र विद्यालयहरू बन्द गरिएका छन्। टोरोन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार १८.१ इन्च (४६ सेमि) हिउँ परेको थियो, जुन उक्त विमानस्थलको नयाँ रेकर्ड भएको क्यानडेली प्रसारक सिबिसीले जनाएको छ।अमेरिकामा सोमबार पनि हवाई यात्रुहरूले ठूलो सास्ती भोग्नुपरेको छ। फ्लाइटअवेयरका अनुसार सोमबार मात्रै १९ हजारभन्दा बढी उडान ढिला भएका छन् भने करिब ५,९०० उडान रद्द गरिएका छन्।राष्ट्रिय मौसम सेवाले शुक्रबारदेखि अर्को आँधी सुरु हुने सम्भावना बढ्दै गएको जनाएको छ। तर आँधीको मार्ग र सबैभन्दा बढी असर पर्ने क्षेत्र अझै स्पष्ट नभएको भन्दै सतर्क रहन आग्रह गरिएको छ।