काठमाडौ। वर्षकै अत्यन्त प्रतिक्षित नेपाली सिनेमा ‘जारी २’ को ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता झन् चुलिएको छ। श्रीमान–श्रीमतीबीचको सुमधुर सम्बन्ध र पारिवारिक रमाइलोबाट सुरु हुने ट्रेलरले, अघिल्लो फिल्म ‘जारी’ को कथालाई निरन्तरता दिएको देखिन्छ।
लिम्बु संस्कृतिका मेला–पर्व, गीत–संगीत र गाउँको जीवनशैलीमा आधारित दृश्यहरूले फिल्मलाई सांस्कृतिक रंग दिएका छन्। स–साना मतभेद र भावनात्मक टकरावमार्फत सम्बन्धमा आउने दरारले कथालाई थप गहिरो बनाएको छ।
दयाहाङ राई र मिरुना मगर को जोडीमा प्रस्तुत ट्रेलरमा प्रेम, नोकझोक, बियोग र पुनर्मिलनको प्रतीक्षा सुन्दर रूपमा चित्रित गरिएको छ। त्यस्तै, विजय बराल को पात्रले पारिवारिक तनाव र सामाजिक दृष्टिकोणलाई जोड दिएको छ। अन्त्यतिर ‘लाहुरे’ पात्रको इन्ट्री र बाँकी राखिएको सस्पेन्सले फिल्मप्रतिको प्रतिक्षा अझै बढाएको छ।
उपेन्द्र सुब्बा को लेखन तथा निर्देशनमा बनेको यो फिल्म बाँसुरी फिल्म्स र कबड्डी फिल्म्स को संयुक्त ब्यानरमा निर्माण गरिएको हो। अघिल्लो फिल्म ‘जारी’ ले २०८० सालमा १७ करोडभन्दा बढीको व्यापार गरेको थियो, त्यसैले यसको सिक्वेल ‘जारी २’ लाई यस वर्षको सबैभन्दा प्रतिक्षित नेपाली फिल्मका रूपमा हेरिएको छ।