• Saturday, June 21, 2025

पुटिनले युक्रेनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव


युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने बारेमा छलफल गर्न आउँदो बिहीबार टर्किएको इस्तानबुलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग 'व्यक्तिगत रूपमा' वार्ता गर्न तयार रहेको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्किएमा रुससँग प्रत्यक्ष वार्ताको प्रस्ताव स्वीकार गर्न युक्रेनलाई माग गर्दा उनले यो बयान दिएका हुन्। "अब अरु ज्यान गुमाउनुको कुनै अर्थ छैन। म आफैं बिहीबार टर्किएमा पुटिनको प्रतीक्षा गर्नेछु," जेलेन्स्कीले सामाजिक सन्जाल एक्समा लेखेका छन्।

जेलेन्स्कीले पहिले नै युक्रेन रुससँग वार्ता गर्न तयार रहेको स्पष्ट गरिसकेका छन्। तर त्यसको लागि पहिले युद्धविराम लागू हुनुपर्ने उनको शर्त छ। यसअघि, युक्रेनले युरोपेली सहयोगीहरूसँग मिलेर वार्ताअघि सोमबारदेखि रुसलाई ३० दिने बिनाशर्त युद्धविराम स्वीकार गर्न माग गरेको थियो। तर मस्कोले उक्त प्रस्तावलाई प्रभावकारी रूपमा अस्वीकार गर्दै प्रत्यक्ष वार्ताको लागि आह्वान गरेको हो।

ट्रम्पको बयानपछि पुटिनले युक्रेनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। ट्रम्पले आइतबार सामाजिक सञ्जालमा लेख्दै युक्रेनले यो प्रस्ताव तुरुन्तै स्वीकार गर्नुपर्ने बताएका थिए। शान्ति सम्झौताको सम्भावना छ/छैन भन्नेबारे स्पष्ट गर्न खोजेका थिए।

उनले लेखे, "कम्तिमा सम्झौता हुन सक्छ कि सक्दैन भनेर थाहा हुनेछ। यदि भएन भने, अमेरिका र युरोपेली देशहरूले अब के गर्नुपर्छ भनेर थाहा पाउनेछन्। अहिले नै वार्ता गर्नुहोस्।"

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुस-युक्रेन युद्ध शुरू भएको थियो।


Please Login to comment in the post!

you may also like