१९८५ मा शीतयुद्धको उत्कर्षकाल चलिरहेका बेला सोभियत संघभित्र काम गरिरहेका सीआईए र उसका पश्चिमी साझेदारका गोप्य एजेन्टहरू एकपछि अर्को गर्दै अचानक हराउन थाले। तीमध्ये धेरैलाई सोभियत गुप्तचर संस्था केजीबीले पक्राउ गर्यो, कडा सोधपुछ गर्यो र धेरैजसोलाई मृत्युदण्ड दिइयो। यही घटनाक्रमले पछि अमेरिकी गुप्तचर इतिहासकै सबैभन्दा ठूलो विश्वासघातको रहस्य खोल्यो, जसको केन्द्रमा थिए सीआईएका उच्च अधिकारी एल्ड्रिच एम्स। यही विश्वासघातका कारण बेलायतका लागि काम गरिरहेका केजीबी कर्नेल ओलेग गोर्डिएभ्स्की जस्ता डबल एजेन्टहरू पनि मृत्युको मुखसम्म पुगे। लन्डनस्थित केजीबीका स्टेशन प्रमुख रहेका गोर्डिएभ्स्की वर्षौंदेखि गोप्य रूपमा बेलायती गुप्तचर संस्था एमआई६ र एमआई५ का लागि काम गरिरहेका थिए। तर एक दिन उनलाई अचानक मस्को बोलाइयो, लागूपदार्थ खुवाएर पाँच घण्टा लामो सोधपुछ गरियो र गोली हानी मारिने डरले उनी मृत्युलाई नजिकबाट महसुस गर्न बाध्य भए। अन्ततः एमआई६ ले जोखिमपूर्ण अपरेसनमार्फत कारको डिकीभित्र लुकाएर उनलाई सोभियत संघबाट बाहिर निकाल्न सफल भयो।
गोर्डिएभ्स्कीले वर्षौंदेखि आफूलाई कसले धोका दियो भन्ने प्रश्नको उत्तर खोज्दै आएका थिए। सन् १९९४ अप्रिलमा अमेरिकी अदालतमा सीआईएका वरिष्ठ अधिकारी एल्ड्रिच एम्सले आफूले सीआईए र उसका साझेदारका झन्डै सबै सोभियत स्रोतहरू केजीबीलाई सुम्पिएको स्वीकार गरेपछि मात्र त्यो रहस्य खुल्यो। एम्सले ३० भन्दा बढी एजेन्टको पहिचान उजागर गरेको र सयभन्दा बढी गोप्य अपरेसन तहसनहस पारेको स्वीकारे। केजीबीमा ‘कोलोकोल’ (घण्टी) को कोड नामले चिनिने एम्सको सूचनाका आधारमा कम्तीमा १० जना महत्वपूर्ण सीआईए स्रोतलाई मृत्युदण्ड दिइयो, जसमा दुई दशकभन्दा बढी समय पश्चिमलाई सूचना दिँदै आएका सोभियत सैन्य गुप्तचर अधिकारी जनरल दिमित्री पोल्याकोभ पनि थिए। अमेरिकी इतिहासमै सबैभन्दा क्षतिकारक केजीबी घुसपैठी ठहरिएका एम्सलाई बिना पैरोल आजीवन कारावासको सजाय सुनाइयो।
विडम्बनापूर्ण कुरा के थियो भने, सीआईएको सोभियत काउन्टर–इन्टेलिजेन्स प्रमुख भएकै कारण एम्ससँग यति ठूलो पहुँच थियो कि उनले लगभग सबै गोप्य फाइल, एजेन्टको नाम र अपरेसन योजना सजिलै केजीबीलाई सुम्पन सके। यही हैसियतका कारण उनले बेलायतको सबैभन्दा मूल्यवान स्रोत गोर्डिएभ्स्कीको बयान सुन्ने अवसर पनि पाए। यसरी ‘शीर्ष केजीबी भगौडा’ लाई ‘शीर्ष केजीबी घुसपैठी’ ले सोधपुछ गर्ने अनौठो अवस्था सिर्जना भयो। पछि गोर्डिएभ्स्कीले अमेरिकनहरूलाई मन पराउने र खुलेर सूचना दिने गरेको बताए, तर पछि मात्र उनले आफूले दिएको सबै सूचना एम्समार्फत केजीबीसम्म पुगेको थाहा पाए।
एम्सको जीवनकथा पैसाको लोभ, मदिरा लत र नैतिक पतनसँग जोडिएको थियो। सीआईए विश्लेषक बाबुको सिफारिसमा जागिर पाएका उनले सुरुमा सम्भावना देखाए पनि मदिरा सेवन, अनुशासनहीनता र गोप्य कागजात लापरवाहीका कारण उनको करियर पटक–पटक संकटमा पर्यो। मेक्सिको सिटीमा कार्यरत रहँदा मातेको अवस्थामा दुर्घटना, कूटनीतिज्ञसँग झगडा र लज्जास्पद व्यवहारका कारण उनी विवादमा परे। निजी जीवनमा पनि सम्बन्धविच्छेद, महँगो जीवनशैली र नयाँ पत्नी मारिया डेल रोसारियो कासास डुपुयका खर्चले उनलाई गम्भीर ऋणमा डुबायो। यही आर्थिक दबाबले उनलाई सन् १९८५ अप्रिलमा वाशिङ्टनस्थित सोभियत दूतावासमा गोप्य रूपमा प्रवेश गरी एजेन्टहरूको नाम सुम्पन प्रेरित गर्यो।
त्यसपछि झन्डै नौ वर्षसम्म एम्सले सीआईएका गोप्य कागजात प्लास्टिकमा बेरेर सजिलै कार्यालयबाट बाहिर ल्याए, ‘डेड ड्रप’ मार्फत केजीबीलाई दिए र बदला स्वरूप करिब २५ लाख डलर लिए। कम तलब हुँदाहुँदै उनले महँगो घर, जगुआर कार र विलासी जीवन बिताए, जसले अन्ततः एफबीआईको शंका बढायो। सन् १९९४ मा पक्राउ परेपछि उनले सबै स्वीकारे। आज पनि उनी इन्डियानाको संघीय कारागारमा आजीवन सजाय भोगिरहेका छन्। अनुसन्धानकर्ताहरूका अनुसार एम्सले आफू समातिएकोमा पछुतो माने पनि जासुसी गरेकोमा कहिल्यै पश्चात्ताप गरेनन्। उनका कारण दर्जनौँ मानिसको ज्यान गयो र शीतयुद्धको इतिहासमा विश्वासघातको सबैभन्दा कालो अध्याय लेखियो।