पोखरा– जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेको भन्दै पर्यटकहरूलाई पदयात्रामा नजान आग्रह गरेको छ। शनिबारदेखि असोज २० गतेसम्म देशभर तथा गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षाको प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेपछि प्रशासनले यो सूचना जारी गरेको हो।सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालका अनुसार अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा, र खुमईलगायतका क्षेत्रमा पदयात्रा नगर्न सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको छ। “उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। जीउज्यानको सुरक्षालाई ध्यानमा राख्दै कुनै पनि पदयात्रा क्षेत्रमा नजान पर्यटकहरूलाई आग्रह गरेका छौँ,” लम्सालले भने।
दशैँ र तिहारको बिदामा कास्कीका पदमार्गहरूमा पर्यटकको भीड लाग्ने गरेको विगतको अनुभव छ। यी बिदामा पदमार्गका होटल र रेस्टुराँहरू पर्यटकले भरिभराउ हुने गर्थे। तर, यस वर्ष भारी वर्षा र हिमपातको पूर्वानुमानका कारण प्रशासनले पदयात्रामा रोक लगाएपछि पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्ने देखिएको छ।प्रशासनले वर्षाका कारण बाढी, पहिरो, डुबान, र हिमपातजस्ता विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन अनुरोध गरेको छ। यस्ता घटना भएमा स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी एकाइ, वा सुरक्षा निकायमा सम्पर्क गर्न पनि प्रशासनले आग्रह गरेको छ।पर्यटक र स्थानीयवासीलाई सुरक्षित रहन र मौसमसम्बन्धी सूचनालाई ध्यान दिन जिल्ला प्रशासन कार्यालयले जोड दिएको छ।