अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्याण्ड खरिद गर्ने विषयमा आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग सक्रिय रूपमा छलफल गरिरहेको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले बुधबार बताएकी छन्। उनले ग्रिनल्याण्ड खरिदका लागि सैन्य कारबाहीको सम्भावनालाई पूर्ण रूपमा अस्वीकार नगरेको भन्दै ट्रम्पका लागि “सबै विकल्प खुला रहने” बताइन्, यद्यपि कूटनीति सधैं उनको पहिलो प्राथमिकता भएको उनको भनाइ छ।
लेभिटका अनुसार ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको राष्ट्रिय सुरक्षाका दृष्टिले महत्वपूर्ण ठान्दै आर्कटिक क्षेत्रमा रूस र चीनको प्रभाव रोक्न यसलाई रणनीतिक रूपमा आवश्यक मानिरहेका छन्। यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आगामी साता डेनमार्कका अधिकारीहरूसँग ग्रिनल्याण्डबारे छलफल गर्ने जानकारी दिएका छन्। खनिज स्रोत र भौगोलिक अवस्थाका कारण ट्रम्पले विगतदेखि नै ग्रिनल्याण्डप्रति चासो देखाउँदै आएका छन्, तर बल प्रयोगको सम्भावना खुला राखिएको अभिव्यक्तिले नाटो सहयोगी राष्ट्रहरूसँग अमेरिकाको सम्बन्धमा थप तनाव सिर्जना गरेको छ। ट्रम्पले यसै दिन ‘ट्रुथ सोसल’मा लेख्दै अमेरिका नाटोको साथमा रहने र चीन तथा रूसले केवल अमेरिकालाई नै डर र सम्मान गर्ने दाबी पनि गरेका छन्।