इरानभर पछिल्लो एक सातादेखि फैलिएका विरोध प्रदर्शनले आर्थिक संकटमा जर्जर सरकारमाथि दबाब बढाएको छ। मुद्राको तीव्र अवमूल्यन र बढ्दो महँगीविरुद्ध सुरु भएका प्रदर्शनहरू सुरुमा शान्त र स्थानीय स्तरका भए पनि क्रमशः देशव्यापी बनेका छन्। अमेरिकी मानवअधिकार कार्यकर्ता समाचार एजेन्सी का अनुसार २७ प्रान्तका ८८ सहरमा अशान्ति फैलिएको छ।
यसैबीच, अमेरिकाले भेनेजुएलामा गरेको नाटकीय सैन्य कारबाही—राष्ट्रपति निकोलस मादुरोलाई रातारात पक्राउ गरी अमेरिका लैजाने घटनाले—तेहरानमा थप चिन्ता बढाएको छ। उक्त घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरूलाई चेतावनी दिँदै, प्रदर्शनकारीको हत्या भए कडा जवाफ दिने बताएका छन्।१० दिनको विरोध प्रदर्शनमा कम्तीमा ३४ जनाको मृत्यु र २,००० भन्दा बढीको गिरफ्तारी भएको मानवअधिकार कार्यकर्ता समाचार एजेन्सी ले जनाएको छ, यद्यपि यी तथ्यांक स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्। सुरक्षा बलले प्रदर्शन दबाउन बासिज अर्धसैनिक बल परिचालन गरेको र घाइते प्रदर्शनकारीलाई अस्पतालमै पक्राउ गरिएको आरोप पनि लागेको छ। दुई सुरक्षा कर्मीको मृत्यु भएको रिपोर्ट गरिएको छ।अमेरिकी चेतावनीप्रति इरानको नेतृत्व आक्रोशित बनेको छ। सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले प्रदर्शन र दङ्गाबीच फरक रहेको भन्दै “दङ्गा मच्चाउनेलाई नियन्त्रणमा लिनुपर्छ” भनेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानी प्रदर्शनकारीप्रति समर्थन जनाएपछि तेहरानको शंका झन् बढेको छ।विश्लेषकहरूका अनुसार इरान अहिले ‘त्रिपक्षीय संकट’ सामना गरिरहेको छ—आर्थिक, राजनीतिक र बाह्य सैन्य दबाब। जोन्स हप्किन्स विश्वविद्यालयका प्राध्यापक भाली नसर भन्छन्, “तेहरानका लागि अमेरिकी उद्देश्य अब अधिकतम र शत्रुतापूर्ण देखिन्छ।” चाथम हाउसकी सानाम वकिलले पनि बाह्य सैन्य टकरावको खतरा बढेको चेतावनी दिएकी छन्।
भेनेजुएलासँग इरानको गहिरो आर्थिक र सैन्य सहकार्य रहँदै आएको छ। दुवै देश अमेरिकी प्रतिबन्धको चपेटामा परेका छन् र आफूलाई अमेरिका-विरोधी धुरीका रूपमा प्रस्तुत गर्छन्। तर इरानको राजनीतिक संरचना र सैन्य तयारी भेनेजुएलाभन्दा फरक र सुदृढ रहेको विश्लेषकहरूको भनाइ छ।इरानी संसदका सभामुख मोहम्मद बाघेर घालिबाफले अमेरिकी कारबाही भए क्षेत्रमा रहेका अमेरिकी लक्ष्यहरू वैध निशाना बन्ने चेतावनी दिएका छन्। गत गर्मीमा इजरायलसँग भएको छोटो युद्धपछि इरानभित्र विदेशी हस्तक्षेपविरुद्ध दुर्लभ राष्ट्रिय एकता देखिएको थियो।इरानको नेतृत्वका लागि यी घटनाक्रमले अमेरिकासँग वार्ता असफल र जोखिमपूर्ण रहेको उनीहरूको पुरानो तर्कलाई बल दिएको छ। खामेनेईले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “वार्ताकै बीच अमेरिकाले युद्धको तयारी गरिरहेको थियो। हामी शत्रुसामु झुक्दैनौं।”