जेनजी आन्दोलनपछि सत्ता बाहिरिएका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री सुशीला कार्कीबीच पछिल्लो समय संवाद सहज बन्दै गएको छ। सुरुआती दिनमा दुवैबीच चर्का आलोचना र असहजता देखिए पनि पछिल्ला केही सातायता चुनाव र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा नियमित संवाद हुन थालेको छ। यही क्रमको निरन्तरताका रूपमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की र पूर्वप्रधानमन्त्री ओलीबीच करिब तीन घण्टा लामो एकान्त वार्ता भएको छ।
बिहीबार बिहान करिब ११ बजे ओली दलका अन्य नेताहरू बिना, स्वकीय सचिव राजेश बज्राचार्यसहित बालुवाटार पुगेका थिए। प्रधानमन्त्री कार्कीका पति दुर्गा सुवेदी बिरामी भई दिल्लीमा उपचाररत रहेको जानकारी पाएपछि ओलीले स्वास्थ्य अवस्थाबारे चासो प्रकट गर्दै भेटघाटको अवसर मिलाएका थिए। प्रारम्भमा पारिवारिक कुराकानी भए पनि त्यसपछि दुवैबीच एक्लाएक्लै लामो राजनीतिक संवाद भएको थियो।
वार्तामा प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा चुनाव गराउने तयारी तीव्र रूपमा अघि बढिरहेको र यसका लागि सबै राजनीतिक दलको सहकार्य आवश्यक रहेको स्पष्ट पारिन्। उनले संसद् पुनर्स्थापनालगायत विषयमा ओलीले सार्वजनिक रूपमा राख्दै आएको धारणाभन्दा अलग्गै रूपमा, एमालेले व्यवहारमा चुनावप्रति सकारात्मक भूमिका खेलेको भन्दै प्रशंसा समेत गरिन्। समानुपातिक निर्वाचनका लागि दल दर्ता र बन्दसूची बुझाउने काममा एमालेले देखाएको तत्परताले सरकारलाई सकारात्मक सन्देश दिएको प्रधानमन्त्रीको भनाइ थियो।
यसअघि तीन दलका शीर्ष नेतासँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले समानुपातिक सूची बुझाउने समय अपुग हुन सक्ने संकेत गरेका थिए भने ओलीले तोकिएकै मितिमा सम्भव हुने धारणा राखेका थिए। सोही प्रसंग स्मरण गराउँदै प्रधानमन्त्रीले चुनाव हुने विषयमा थप स्पष्ट र जिम्मेवार भूमिका निर्वाह गर्न ओलीको ध्यानाकर्षण गराएकी थिइन्।
स्रोतका अनुसार ओलीले बिहीबारको भेटमा पनि संसद् पुनर्स्थापनाबाटै राजनीतिक निकास सम्भव हुने आफ्नो पार्टीको पुरानै धारणा दोहोर्याए। तर सरकारले यसलाई चुनाव भएपछिको एमालेको चुनावी एजेन्डाका रूपमा मात्रै बुझेको छ। एमालेले महाधिवेशन सम्पन्न गरी उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनाइरहेका बेला सरकार स्वयं चुनावप्रति कत्तिको प्रतिबद्ध छ भन्ने बुझ्न ओली बालुवाटार पुगेको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ।
चुनावको मिति कुनै पनि हालतमा फागुन २१ भन्दा तलमाथि नहुने अडानमा प्रधानमन्त्री कार्की दृढ देखिएकी छन्। यही कारण सरकारमा बसेर राजनीतिक महत्वाकांक्षा राख्ने केही मन्त्रीहरूलाई बाहिरिने संकेत दिइसकिएको छ भने कुलमान घिसिङ बाहिरिइसकेका छन्। सानो समूहबाट पनि अवरोध नआओस् भन्ने उद्देश्यले सरकारले सबै राजनीतिक समूहसँग संवाद जारी राखेको छ र दुर्गा प्रसाईं समूहसँग पनि छिट्टै औपचारिक सहमति गर्ने तयारी भइरहेको छ।
यता निर्वाचनका लागि प्रहरी भर्ना खुलिसकेको छ भने मतपत्र छपाइको अन्तिम तयारी पनि पूरा भएको छ। राजनीतिक वृत्तमा मौसम, आन्तरिक विवाद र अन्य कारणले चुनाव सर्न सक्ने अड्कल भए पनि सरकार आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट सन्देश दिइरहेको छ। काठमाडौं महानगरका मेयर बालेन शाहसहित नयाँ दलहरूले समानुपातिक सूची बुझाउने समय सार्न माग गरे पनि प्रधानमन्त्री र निर्वाचन आयोग दुवैले मिति नथप्ने निर्णय गरेका छन्।
प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार ओली–कार्की भेट पूर्णतः राजनीतिक र चुनाव केन्द्रित थियो। भेटपछि ओलीले एमाले चुनावको विरोध नगर्ने र सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको रावलले जानकारी दिए। यसअघि राष्ट्रपति निवास शीतल निवास र बालुवाटारमा भएका संवाद, साथै जाँचबुझ आयोगसँग ओलीको सहकार्यपछि राजनीतिक वातावरण क्रमशः सहज बन्दै गएको देखिन्छ।