धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा सञ्चालन हुँदै आएको श्रमदान अभियान शनिबार फेरि उत्सवमय वातावरणमा सम्पन्न भएको छ। पुस १९ गते बिहानैदेखि धरान–१८ र १९ को सीमास्थित बुद्धचोकमा सयौँ नागरिक भेला भई बसमार्फत श्रम संस्कृति पार्क पुगेका थिए। चिसो मौसमका बाबजुद बेल्चा, गैँती र साबेल बोकेर गीत–संगीत र नारासहित सुरु भएको श्रमदान अभियानमा पाँच सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।
श्रम संस्कृति पार्कसँगै निर्माणाधीन जेष्ठ नागरिक पार्कमा जाली लगाउने, ढुंगा बोक्ने र गाह्रो हाल्ने काम दिनभर नाचगान र रमाइलोसँगै अघि बढ्यो। सहभागीलाई चिया, खाजा र दिउँसो मासु–भातको व्यवस्था गरिएको थियो। कार्यक्रममा बोल्दै मेयर साम्पाङले श्रमदानलाई धरानमा मात्र सीमित नराखी देशव्यापी अभियान बनाइनुपर्ने बताए। उनले श्रमदानकै माध्यमबाट जेष्ठ नागरिक पार्क निर्माण भइरहेको उल्लेख गर्दै यसले वृद्धवृद्धालाई साथी र सहारा दिने बताए।
दाताको सहयोग र नागरिकको श्रमदानबाट करिब ३ करोड लागत अनुमान गरिएको जेष्ठ नागरिक पार्क निर्माण भइरहेको छ। यसअघि श्रमदानकै बलमा श्रम संस्कृति पार्क निर्माण भइसकेको छ, जहाँ दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। पार्क प्रवेशका लागि ३५ रुपैयाँ शुल्क तोकिएको छ।
मेयर साम्पाङले हरेक हप्ता अभियानगत कार्यतालिका बनाउँदै मंगलबार ‘जनमतबार’, बिहीबार ‘सफाबार’, शुक्रबार ‘सुधारबार’ र शनिबार ‘श्रमबार’ मनाउँदै आएका छन्। यसले नागरिक सहभागिता बढाउँदै उनको नेतृत्वशैलीलाई अलग पहिचान दिएको स्थानीयको भनाइ छ।
कोकाह खोलाबाट धरानमा पानी ल्याउने परियोजनापछि साम्पाङप्रति जनविश्वास थप बलियो बनेको छ। पानी अभावबाट मुक्त भएपछि श्रमदान र विकास अभियानमा नागरिकको साथ बढेको स्थानीयहरू बताउँछन्। यही समर्थनका आधारमा साम्पाङले उद्योग स्थापना, वातावरण संरक्षण, सांस्कृतिक प्रतिमा निर्माणजस्ता नयाँ परियोजनाहरू अघि बढाइरहेका छन्।
हालैका महिनाहरूमा साम्पाङका गतिविधिमा राष्ट्रिय राजनीतिसम्मको संकेत देखिन थालेको छ। श्रमदान अभियानका क्रममा ‘हर्क साम्पाङ प्रधानमन्त्री’ भन्ने नारासमेत सुनिन थालेका छन्। समर्थकहरू भने धरानमा देखिएको परिवर्तनकै आधारमा उनको राष्ट्रिय भूमिकाको आकांक्षालाई स्वाभाविक ठान्छन्।