काठमाडौँ, असोज १७, २०८२ - जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि असोज २० गतेसम्म देशभर भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएसँगै विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले सतर्क रहन आह्वान गरेका छन्। बाढी, पहिरो र भू–क्षयजस्ता विपद्जन्य घटनाको जोखिम बढ्ने भन्दै नागरिकलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।जिल्ला प्रशासन कार्यालय, काठमाडौँले असोज १७ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना रहेको र यसले बाढी, पहिरो र भू–क्षयजस्ता जोखिम निम्त्याउन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। प्रशासनले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र विशेषगरी रातिको समयमा काठमाडौँबाट बाहिर जाने वा काठमाडौँ प्रवेश गर्ने यात्रुहरूलाई यात्रा नगर्न सुझाव दिएको छ। विपद्को समयमा तत्काल उद्धार, सहयोग र राहतका लागि सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको छ!जिल्ला प्रशासन कार्यालय, कास्कीले शुक्रबारदेखि आगामी सोमबारसम्म उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ। अन्नपूर्ण र मर्दी क्षेत्रमा पदयात्रा नजान पर्यटक र पदयात्रीलाई आग्रह गरिएको छ। गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य राजमार्ग र जोखिमयुक्त सडकखण्डमा डोजर, एक्स्क्याभेटर, लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन र प्रहरी कार्यालयले पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुंगा र नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्ने समस्या रहेको भन्दै रातिको समयमा यात्रा नगर्न अनुरोध गरेका छन्। पहिरोका कारण सडक अवरुद्ध हुँदै आएको र तीनवटै जिल्लाको संयुक्त पहलमा सडक सुचारु गरिएको छ।ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेसहितको टोलीले काठमाडौँ उपत्यकाको पानी निकास हुने एकमात्र क्षेत्र चोभार गल्छीको स्थलगत निरीक्षण गरेको छ। भारी वर्षाको प्रक्षेपणका कारण जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।गृह मन्त्रालयले असोज १७ देखि २० गतेसम्म पाँच प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। भारतको मौसम विभागले पनि बिहार र छत्तीसगढमा भारी वर्षाको सम्भावनासहित ‘रेड अलर्ट’ जारी गरेको छ, जसको प्रभाव नेपालका तराई क्षेत्रमा पर्ने देखिएको छ। मन्त्रालयले अत्यावश्यक बाहेक घरबाट टाढा र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ।सडक विभागले पनि रातिको समयमा यात्रा नगर्न र नागढुंगा–मुग्लिन, मुग्लिन–नारायणगढ, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ र दाउन्ने सडकमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। विपद् व्यवस्थापनका लागि कर्मचारीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।जोखिमयुक्त क्षेत्रका नागरिकलाई उचो र सुरक्षित स्थानमा जान र बाटोको अवस्था मूल्यांकन गरी यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।