• Tuesday, March 3, 2026

स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाइने


नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाइने बताएका छन्। आइतबार सार्वजनिक गरिएको भिडियो वक्तव्यमा सभापति थापाले नेपालको जनस्वास्थ्य समस्या समाधान गर्ने सबैभन्दा प्रभावकारी उपाय स्वास्थ्य बीमा भएको उल्लेख गर्दै कांग्रेसले सरकार गठन गरेमा यसलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्दा आफू स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै उनले उपचारकै क्रममा धेरै नेपालीले सम्पत्ति गुमाएको र गरिबीमा धकेलिएको यथार्थका आधारमा यो योजना अघि सारेको बताए। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अवधारणाअनुसार नागरिकले आफ्नो खल्तीबाट गर्ने स्वास्थ्य खर्च २० प्रतिशतभन्दा कम हुनुपर्ने भए पनि नेपालमा यो ५७ प्रतिशत पुगेको उल्लेख गर्दै उनले राज्यको भूमिका अझ बलियो हुनुपर्ने बताए।

सभापति थापाले स्वास्थ्य बीमासम्बन्धी कानुन आफ्नै कार्यकालमा बनेको उल्लेख गर्दै अपांग, ज्येष्ठ नागरिक र आर्थिक रूपमा कमजोर वर्गको बीमा शुल्क राज्यले व्यहोर्ने व्यवस्था गरिएको जानकारी दिए। सुरुमा कार्यक्रम राम्रोसँग अघि बढे पनि पछिल्लो समय अस्तव्यस्त बनेको भन्दै यसलाई सुधार गर्नुपर्ने आवश्यकता औँल्याए।स्वास्थ्य बीमालाई दिगो बनाउन सबै नेपाली नागरिकको अनिवार्य बीमा आवश्यक रहेको बताउँदै उनले औपचारिक क्षेत्रबाट सुरुआत गरी रक्सी, चुरोटजस्ता वस्तुमा कर लगाएर त्यसको रकम बीमामा लगानी गर्ने योजना रहेको बताए। साथै, छरिएर रहेका सबै स्वास्थ्य कार्यक्रमलाई बीमाको ढाँचाभित्र ल्याउने, तीनै तहका सरकारका कार्यक्रम एकीकृत गर्ने र सुशासन तथा डिजिटल प्रणालीमार्फत चुहावट रोक्ने योजना रहेको उनको भनाइ छ।

पाँच वर्षको सरकार बनेपछि पहिले अहिलेको अस्तव्यस्त अवस्था हटाइने, त्यसपछि बीमाको पहुँच विस्तार गरिने र अन्ततः बीमा गरेका नागरिकको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने अवस्था सिर्जना गर्ने लक्ष्य रहेको सभापति थापाले बताए। स्वास्थ्य दान नभई सुरक्षा भएको उल्लेख गर्दै उनले यसलाई नागरिकको संवैधानिक अधिकारका रूपमा राज्यले सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

Please Login to comment in the post!

you may also like