राष्ट्रपति डोनाल्ड ट्रम्पले अत्यधिक चिसो मौसमका कारण को ले एक हप्तासम्म युक्रेनको राजधानी कीभसहित अन्य सहर र बस्तीहरूमा आक्रमण नगर्ने सहमति जनाएको दाबी गरेका छन्। यद्यपि रुसले औपचारिक रूपमा यस्तो सहमति पुष्टि गरेको छैन, तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पको घोषणालाई स्वागत गर्दै रुसले प्रतिबद्धता पालना गर्ने अपेक्षा व्यक्त गरेका छन्। ट्रम्पले यो विराम कहिलेदेखि लागू हुने स्पष्ट नगरे पनि कीभमा बिहीबार रातिदेखि तापक्रम तीव्र रूपमा घटेर आगामी दिनमा माइनस २४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
सन् २०२२ मा पूर्णस्तरको आक्रमण सुरु भएयता रुसले चिसो मौसममा युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाउँदै आएको छ। वासिङ्टन डीसीमा भएको मन्त्रिपरिषद् बैठकमा ट्रम्पले आफूले व्यक्तिगत रूपमा पुटिनसँग एक हप्तासम्म कीभमा आक्रमण नगर्न आग्रह गरेको र उनले त्यसमा सहमति जनाएको बताएका छन्। जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत चरम जाडोको समयमा कीभ र अन्य सहरहरूको सुरक्षाबारे ट्रम्पको भनाइ महत्वपूर्ण भएको उल्लेख गर्दै युएईमा भएको छलफलअनुसार सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन्।
बीबीसीका अनुसार, युक्रेनले पनि प्रतिक्रियास्वरूप रुसका तेल प्रशोधन केन्द्रमाथि आफ्ना आक्रमण रोक्ने सहमति जनाएको छ। युएईमा हालै रुस, युक्रेन र अमेरिकाबीच युद्ध सुरु भएयताकै पहिलो त्रिपक्षीय वार्ता भए पनि रुसले आक्रमण रोक्ने औपचारिक घोषणा भने गरेको छैन, जसका कारण ऊर्जा पूर्वाधारमा निरन्तर आक्रमण हुँदा लाखौँ युक्रेनी नागरिक हीटिङ र विद्युत्बिहीन अवस्थामा बस्न बाध्य भएका छन्।