आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट साविक माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)का ६ जना पूर्वअध्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। उम्मेदवार हुनेमा देवेन्द्र पौडेल, कृष्णध्वज खड्का, लेखनाथ न्यौपाने, हिमाल शर्मा, रमेश मल्ल र रञ्जित तामाङ रहेका छन्। कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत १० घटक मिलेर नेकपा गठन भएपछि पार्टी पहिलोपटक एक्लै चुनावी मैदानमा उत्रिएको हो।
जेनजी विद्रोहपछिको बदलिँदो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै पार्टीले यसपटक उम्मेदवार छनोटमा युवा, अध्ययनशील र विद्यार्थी आन्दोलनबाट खारिएका नेताहरूलाई प्राथमिकता दिएको देखिन्छ। यद्यपि परम्परागत दलहरूप्रति असन्तुष्टि बढ्दै वैकल्पिक शक्तिप्रति जनआकर्षण बढिरहेको वर्तमान अवस्थामा यी विद्यार्थी नेताहरूलाई जित निकाल्न चुनौतीपूर्ण देखिन्छ। देवेन्द्र पौडेल नवलपरासी–२, कृष्णध्वज खड्का प्युठान–१, लेखनाथ न्यौपाने गोरखा–२, हिमाल शर्मा काठमाडौँ–६, रमेश मल्ल सल्यान–१ र रञ्जित तामाङ झापा–५ बाट उम्मेदवार बनेका छन्।
अनुभवी मन्त्रीदेखि लामो समय जेल जीवन र आन्दोलनमा सक्रिय नेतासम्मको मिश्रण रहेका यी उम्मेदवारमार्फत पार्टीले जनविश्वास पुनःआर्जन गर्ने रणनीति लिएको विश्लेषण गरिएको छ। अब विद्यार्थी राजनीतिबाट उदाएका यी नेताहरू बदलिँदो जनमतको बीच संसद् पुग्न सफल हुन्छन् कि हुँदैनन् भन्ने निर्णय मतदाताले गर्नेछन्।