काठमाडौं । बलात्कार र यौन हिंसा प्रायः घरबाहिर हुने अपराधका रूपमा बुझिँदै आएको सामाजिक मान्यतालाई चुनौती दिँदै वैवाहिक सम्बन्धभित्र हुने यौनिक हिंसाको कडा यथार्थलाई मञ्चमा उतारिएको नाटक ‘बिस्फोटको तेश्रो पाइला’ हाल कुञ्ज थिएटर, थापागाउँमा मञ्चन भइरहेको छ।
मिराकल फिल्म्सको सहकार्यमा एभरेष्ट फिल्म एकेडेमीको प्रस्तुतिमा तयार भएको यस नाटकले आफ्नै घरभित्र, आफ्नै श्रीमानबाट महिलाले भोग्नुपर्ने यौनिक हिंसा, मौन पीडा र सामाजिक दबाबलाई मुख्य विषय बनाएको छ। समाजमा अझै गहिरोसँग जरा गाडेर बसेको ‘श्रीमान–श्रीमतीबीच बलात्कार हुँदैन’ भन्ने गलत धारणा नाटकको केन्द्रमा प्रश्नको रूपमा उभिएको छ।
नाटकको परिकल्पना तथा निर्देशन रोमर्श राय ठकुरीले गरेका हुन् भने सहायक निर्देशन विशाल के.सी.को रहेको छ। नाटकले पीडित महिलाको मनोविज्ञान, समाजको चुप्पी, कानुनी अस्पष्टता र सामाजिक जटिलतालाई कलात्मक तथा संवेदनशील ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ।
मञ्चन तालिकाअनुसार नाटक माघ ०४ गतेदेखि २० गतेसम्म प्रत्येक दिन दिउँसो ५:०० बजे प्रदर्शन हुँदै आएको छ। शनिबार भने दर्शकको सुविधाका लागि दिउँसो २:३० बजे अतिरिक्त शो पनि राखिएको छ।
नाटकको पोस्टरमा चर्किएको जमिनमाथि महिलाको नाङ्गो पाइला अगाडि बढिरहेको प्रतीकात्मक दृश्य देखाइएको छ, जसले घरभित्रैबाट सुरु हुने हिंसाले महिलाको जीवन कति असुरक्षित, अस्थिर र पीडादायी बन्न सक्छ भन्ने गहिरो संकेत गर्दछ।
निर्माण टिमका अनुसार ‘बिस्फोटको तेश्रो पाइला’केवल एउटा नाटक मात्र नभई वैवाहिक बलात्कार, महिला अधिकार र घरभित्र लुकेर बसेको अदृश्य हिंसामाथि गम्भीर बहस सुरु गराउने कलात्मक पहल हो। नाटकले दर्शकलाई सोच्न, प्रश्न गर्न र मौनताविरुद्ध उभिन प्रेरित गर्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।