काठमाडौं । अमेरिकाको आक्रामक विदेश नीतिका कारण पश्चिमा देशहरू र वासिङ्टनबीच सम्बन्धमा दरार देखिन थालेको छ । यही परिवेशमा युरोप र उत्तर अमेरिकी देश क्यानडासहितका पश्चिमा राष्ट्रहरू चीनसँग सम्बन्ध सुधार र सहकार्य बढाउने रणनीतिमा लागेका छन् ।क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीन भ्रमण गरेको दुई सातापछि बेलायतका प्रधानमन्त्री किर स्टार्मर पनि तीन दिने भ्रमणका लागि चीन पुगेका छन् । पछिल्ला आठ वर्षयता बेलायती प्रधानमन्त्रीको चीन भ्रमण पहिलो हो । यसअघि सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री थेरेसा मेले चीन भ्रमण गरेकी थिइन् ।विश्व राजनीतिमा तीव्र परिवर्तन भइरहेका बेला चीन विश्व महाशक्तिका रूपमा उदाउँदै गएको छ । अमेरिकालाई प्रत्यक्ष चुनौती दिनसक्ने शक्तिका रूपमा चीन स्थापित हुँदै गएपछि विगतमा अमेरिकी छत्रछायामा रहेका देशहरू बिस्तारै बेइजिङतर्फ आकर्षित हुन थालेका विश्लेषकहरू बताउँछन् ।ट्रम्प नेतृत्वको अमेरिकाले युरोप र क्यानडाजस्ता सहयोगी देशमाथि अपनाएको कडा नीति, भन्सार वृद्धि तथा सैन्य खर्च बढाउन दिएको दबाबका कारण पश्चिमा मुलुकहरू नयाँ सहयात्रीको खोजीमा छन् । यस सन्दर्भमा चीन उनीहरूका लागि वैकल्पिक शक्ति केन्द्रका रूपमा देखिएको छ ।
चीन भ्रमणअघि प्रधानमन्त्री स्टार्मरले बेलायतले अमेरिका वा चीनमध्ये एक रोज्नुपर्ने बाध्यता नरहेको बताएका थिए । उनले अमेरिकासँगको सम्बन्ध कायम राख्दै चीनलाई पनि बेवास्ता गर्न नसकिने बताएका छन् । पछिल्लो समय ट्रम्प र स्टार्मरबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोपसमेत भएको थियो ।बेलायत–चीन सम्बन्ध विगतमा उतारचढाबपूर्ण रहँदै आएको छ । सन् २०२० मा बेलायतले सुरक्षा चिन्ताको कारण देखाउँदै चिनियाँ प्रविधि कम्पनी हुवावेलाई फाइभजी नेटवर्कबाट हटाएको थियो । यसअघि २०१५ मा चीन–बेलायत सम्बन्धलाई ‘स्वर्ण युग’को संज्ञा दिइएको थियो ।यतिबेला युरोपेली देशहरू चीनसँग कूटनीतिक सम्बन्ध तीव्र बनाइरहेका छन् । फिनल्याण्ड, आयरल्याण्डका प्रधानमन्त्रीको चीन भ्रमण भइसकेको छ भने जर्मनीका चान्सलर फ्रेडरिक मर्ज आगामी फेब्रुअरीमा चीन जाने तयारीमा छन् ।विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको चीन ग्लोबल म्यानुफ्याक्चरिङ, प्रविधि र रेयर अर्थ मिनरलमा बलियो पकड जमाइसकेको छ । यही कारण आर्थिक, व्यापारिक र रणनीतिक आवश्यकताले पश्चिमा देशहरूका लागि चीनसँग सहकार्य अब विकल्प मात्र नभई बाध्यता बन्दै गएको देखिन्छ ।
अमेरिकासँगको बढ्दो अविश्वास र विश्व शक्तिसन्तुलनमा आएको बदलावका कारण पश्चिमा नेताहरूको बाक्लिँदो बेइजिङ यात्राले चीन नयाँ शक्ति केन्द्रका रूपमा स्थापित हुँदै गएको संकेत गरेको छ ।