काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको रासन स्केल तथा दैनिक रासन रकम वृद्धि गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषद् बैठकपछि जानकारी दिँदै बढेको रासन रकम आगामी फागुन १ गतेदेखि लागू हुने बताए । उनका अनुसार प्रहरी कर्मचारीहरूको रासन स्केल र दैनिक खर्च रकम दुवैमा वृद्धि गरिएको छ ।तर, कति रकमले वृद्धि गरिएको हो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन । सरकारले प्रहरीको जीवनयापन सहज बनाउन र महँगीको असरलाई ध्यानमा राख्दै रासन रकम वृद्धि गर्ने निर्णय गरेको बताइएको छ ।यस निर्णयबाट देशभर कार्यरत नेपाल प्रहरीका कर्मचारीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।