• Tuesday, March 3, 2026

आईएमएफको प्राविधिक टोलीद्वारा नेपालमा सुशासन र भ्रष्टाचार जोखिमबारे अध्ययन सुरु



काठमाडौं — अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एक प्राविधिक टोलीले नेपालमा सुशासनका कमजोरी र त्यससँग सम्बन्धित जोखिम पहिचान गर्न प्रारम्भिक अध्ययन सुरु गरेको छ।नेपाल सरकारको अनुरोधमा सुशासन र भ्रष्टाचार निदान (गभर्नेन्स एन्ड करप्सन डायग्नोस्टिक–जीसीडी) को प्रारम्भिक अध्ययन गर्न जोनाथन पम्पोलिनाको नेतृत्वमा आएको टोलीले आधारभूत कार्य सम्पन्न गरेको आईएमएफले जनाएको छ।

टोली १२ देखि २१ जनवरी २०२६ सम्म काठमाडौंमा रहँदै विभिन्न सरकारी तथा गैरसरकारी सरोकारवालासँग भेटघाट र छलफलमा संलग्न भएको थियो। अध्ययनको मुख्य उद्देश्य नेपालको अर्थतन्त्रका लागि चुनौतीपूर्ण मानिएका सुशासनका क्षेत्र पहिचान गर्नु तथा सुधारका लागि क्रमिक कार्ययोजना प्रस्ताव गर्नु रहेको आईएमएफले जनाएको छ।आईएमएफ टोलीले विशेषगरी सार्वजनिक वित्त व्यवस्थापन, राजस्व प्रशासन तथा वित्तीय क्षेत्रको सुपरिवेक्षणजस्ता महत्त्वपूर्ण क्षेत्रमा केन्द्रित भएर अध्ययन गरेको छ। यसका साथै विधिको शासन, सम्पत्ति शुद्धीकरण निवारणको अवस्था तथा विद्यमान भ्रष्टाचारविरोधी कानुनी र संस्थागत संरचनाले देशको समष्टिगत आर्थिक लक्ष्यमा पुर्‍याइरहेको योगदानबारे पनि मूल्यांकन गरिएको छ।

जीसीडी अध्ययनअन्तर्गत विस्तृत डायग्नोस्टिक प्रतिवेदन तयार गरिने र त्यसमा सुधारका प्राथमिकता तथा सिफारिसहरू समेटिने आईएमएफले जनाएको छ। प्रतिवेदनले नेपालमा भ्रष्टाचारको प्रकृति र गम्भीरता विश्लेषण गर्नुका साथै पहिचान गरिएका कमजोरी सम्बोधन गर्न प्राथमिकताका आधारमा स्पष्ट सुधार योजना प्रस्ताव गर्ने लक्ष्य राखेको छ।भ्रमणका क्रममा आईएमएफ टोलीले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत, न्याय परिषद्, लोक सेवा आयोग र महालेखा परीक्षकको कार्यालयलगायत संवैधानिक तथा सरकारी निकायका उच्च अधिकारीहरूसँग सघन छलफल गरेको थियो।

त्यस्तै राष्ट्रिय योजना आयोग, राष्ट्रिय सतर्कता केन्द्र, वित्तीय सूचना इकाइ, आन्तरिक राजस्व विभाग तथा भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने विशेष अदालतका अधिकारीहरूसँग पनि भेट गरी सुशासनका चुनौतीबारे जानकारी लिइएको छ।

सरकारी निकायबाहेक टोलीले निजी क्षेत्रका व्यावसायिक संगठन, नागरिक समाज र अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग पनि छुट्टाछुट्टै छलफल गरी वस्तुगत धारणा संकलन गरेको आईएमएफले जनाएको छ।आईएमएफले अध्ययन प्रक्रियामा नेपाली अधिकारीहरूले देखाएको प्रतिबद्धताको प्रशंसा गर्दै आगामी सहकार्यप्रति उत्साह व्यक्त गरेको छ। आगामी केही महिनाभित्र मुख्य जीसीडी टोली नेपाल आउने पनि आईएमएफले जानकारी दिएको छ।

Please Login to comment in the post!

you may also like