‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पटकपटक भनेका छन्, ‘नेकपा पहिलो पार्टी हुन्छ ।’ त्यति मात्र होइन, एमालेभन्दा ठूलो पार्टी हुने भन्दै अन्य नेताहरूले पनि सार्वजनिक टिप्पणी गरिरहेका छन् ।यद्यपि, २०७० सालपछि पहिलोपटक नेकपाले देशभर उम्मेदवार उठाएको छ । २०७४ सालमा एमाले र २०७९ सालमा कांग्रेससँग गठबन्धन गर्दा धेरै निर्वाचन क्षेत्रमा नेकपामा उम्मेदवार नै थिएनन् । त्यसले गर्दा कतिपय अवस्थामा समानुपातिक भोट पनि कम भएको थियो । अहिले नेकपा आफ्नो भोट रक्षा गर्दै असन्तुष्ट एमालेको भोट तान्ने रणनीतिमा छ । कतिपय अवस्थामा भने कांग्रेसका भोटसमेत तान्ने प्रयास गरेको छ । यद्यपि, कांग्रेसीले नेकपालाई भोट दिन भने निकै गाह्रो हुने देखिन्छ ।
त्यसैले पनि नेकपा अहिले आफ्नै प्रयासमा सिट सुरक्षित गर्ने ध्याउन्नमा लागेको छ । कतिपय हकमा अन्य पार्टीका नेतालाई उम्मेदवार बनाउनेदेखि स्वतन्त्रलाई तानेर उम्मेदवार बनाउनेसम्मको प्रयाससमेत नेकपाले गरेको छ । जस्तो; अछाममा कांग्रेस नेतालाई ल्याएर टिकट दिएको नेकपाले ओखलढुंगामा एमाले नेतालाई भित्र्याएर टिकट दियो । त्यति मात्र होइन, खोटाङमा बुद्धिजीवी हरि रोकालाई टिकट दियो । मधेशको हकमा त्यस्तै प्रयास गरेको छ । त्यसैले, नेकपाले जित्न नसकेका क्षेत्रबाट समानुपातिक मत बढाउने रणनीति लिएको देखिन्छ ।
त्यसो त, जेन–जी आन्दोलनप्रति समर्थन जनाएको नेकपाले त्यसलाई पनि मतमा रुपान्तरण गर्न प्रयास गरेको छ । अर्थात्, नेकपाले तीनवटा पक्षबाट भोट फकाउने नीति लिएको छ । एक, एमालेभित्रको असन्तुष्टि । दुई, कांग्रेसभित्रको विवाद । तीन, जेन–जी आन्दोलनको समर्थनबाट ।यी तीनै पक्षबाट भोटको आस गरेको नेकपाले आफ्नो भोटचाहिँ सुरक्षित गर्न सक्छ कि सक्दैन भन्ने चासो पनि बढेको छ । जनार्दन शर्मा, सुदन किराँतीलगायत नेताहरूको बहिर्गमनले पूर्वमाओवादीसँग जोडिएका मतहरू गुम्ने खतरा पनि छ । त्यसको असर प्रत्यक्षमा जित निकाल्नदेखि समानुपातिकसम्म पर्ने आकलन पनि नेकपाभित्र नभएको चाहिँ होइन । यहीबीचमा सिन्धुलीमा भएको हरिबोल गजुरेल र महेश्वर दाहालको विद्रोह, दाङमा कुलप्रसाद केसीको विद्रोह, अनि पर्साका रहबर अन्सारीको पार्टीत्यागले पनि नेकपाको मतलाई प्रभावित भने बनाउनेछ ।
कम्युनिस्ट जनमत ओली र एमालेभित्रको असन्तुष्टिका कारण आफूतर्फ आउने नेकपाका नेता देव गुरुङ बताउँछन् । बिजनेस प्रेससँगको कुराकानीमा उनले भने, ‘हाम्रो पार्टीमा एकताबद्ध हुने क्रम अहिलेसम्म जारी छ । कम्युनिस्टको जनमत सबैभन्दा बढी छ । त्यो जनमत अहिले हाम्रो पार्टीमा गोलबद्ध हुन्छ । त्यसैले, पहिलो पार्टी बन्छौँ ।’नेकपाको संगठन बलियो, एकतापछिको उत्साह, विचार र सिद्धान्त प्रस्ट भएकाले पहिलो पार्टी हुने आधार भएको गुरुङ दाबी गर्छन् ।गुरुङको जस्तै दाबी नेकपाका नेता प्रमेश हमाल गर्छन् । बिजनेस प्रेससँगको कुराकानीमा उनले भने, ‘नेकपा योपटक पहिलो पार्टी हुन्छ । नेकपामा उत्साह छ । उम्मेदवारहरू अनुभवी र युवा छन् । जेन–जीका मागहरू पूरा गर्ने पार्टी हाम्रो नै हो । गाउँघरमा हाम्रा उम्मेदवारहरूलाई मतदाताहरूले गरेको रेस्पोन्स राम्रो छ । कम्युनिस्ट जनमत हाम्रो पक्षमा छ ।’
विचार र राजनीतिक परिवर्तनको पक्षमा हुनुपर्ने हो तर केही हल्लाको भरमा राजनीति गरिरहेकाले जनमत विचार र राजनीतिका पक्षमा हुने हमाल बताउँछन् । उनले भने, ‘राजनीति विचार सिद्धान्तले चल्ने हो । यो कुरा नेकपामा छ । अरु पार्टीमा विचार, सिद्धान्त छैन । नयाँ भनेकाहरूको विचार, सिद्धान्त र गन्तव्य नै कहाँ हो, के हो ? थाहा छैन । राजनीति सिद्धान्त परिवर्तनको वाहक शक्ति नेकपा नै हो, त्यस कारण जनता हाम्रो पक्षमा छन् ।’देशभरिका अन्य प्रदेशमा जस्तै सुदूरपश्चिम प्रदेशमा पनि माहौल राम्रो बनेको नेकपाका नेता खगराज भट्ट बताउँछन् । बिजनेस प्रेससँगको कुराकानीमा उनले भने, ‘माओवादी र नेकपा एसबीच गठबन्धन हुँदा ३ सिट जितेको सुदूरपश्चिममा योपटक १० सिटजति जित्छौँ । नेकपा बनेपछि र सुदूरपश्चिममा प्रभावशाली नेता भीम रावल, प्रकाश शाहलगायतका नेताहरू पनि नेकपामा समाहित हुँदा त्यसको प्रभाव यो चुनावमा पर्छ । सुदूरपश्चिममा पहिलो पार्टी बन्छौँ ।’
अहिले दुई अतिवादी शक्तिहरू बढ्न थालेका कारण पहिलो पार्टी नेकपा बन्ने आधार रहेको केन्द्रीय सदस्य डीपी ढकालले बताए । बिजनेस प्रेससँगको कुराकानीमा उनले भने, ‘देशमा अहिले दुई अतिवादीहरू छन् । पहिलो देश जलाउने अतिवादीहरूको समूह र अर्को देश जलाउने अवस्था बनाउने अतिवादीहरूको समूह । नेकपा विकास, समृद्धि र समतामूलक न्यायसहितको देश बनाउने भिजन भएको पार्टी हो । अतिले गर्दा यति ठूलो क्षति भएकाले अब पुनर्निर्माण गर्ने पार्टी नेकपा हो । जनताले पनि यो कुरा बुझेकाले हामी पहिलो पार्टी बन्छौँ ।’नेकपाले ६० भन्दा बढी सिट जित्ने ढकालको आकलन छ । उनले भने, ‘६० भन्दा बढी सिट नेकपाले ल्याउँछ । समानुपातिकमा अघिल्लो पटकको भन्दा दोब्बर बढ्छ । स्थापित पार्टीको विकल्प स्थापित पार्टी नै हो, जुन नेकपा हो । कांग्रेस–एमालेको जनमत नेकपामा सिफ्ट हुन्छ ।’
कर्णालीमा नेकपा प्रत्यक्षमा पहिलो पार्टी हुने र समानुपातिकमा दोस्रो पार्टी हुने नेता कालीबहादुर मल्ल बताउँछन् । बिजनेस प्रेससँगको कुराकानीमा उनले भने, ‘कर्णालीमा पहिलाभन्दा प्रत्यक्षमा सिट बढ्छ । जनमत बढेर प्रत्यक्षमा ८ सिटजति जित्छौँ । तर, समानुपातिक मत पहिलाभन्दा बढे पनि दोस्रो हुन्छौँ । अघिल्लो चुनावमा तेस्रो थियौँ ।’
सुदूरपश्चिम र कर्णालीमा नेताहरूले भनेजस्तै कोशीमा कम्तीमा ५ सिट जितिने आकलन नेताहरूले सुनाइरहेका छन् । मधेशमा यसपटक सिट बढ्ने पनि दाबी गर्छन् । अघिल्लो चुनावमा एक सिट मात्रै जित निकालेको नेकपाले अहिले ७ भन्दा बढी सिट जित निकाल्ने दाबी गरेका छन् ।नेताहरूले जितको आकलन र सिट संख्या बताए पनि नेकपाका नेताहरूले पुरानो सिट संख्या घट्न नदिने रणनीति बनाएका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा ४२ सिट थियो । यो सिट संख्यालाई कायम राख्ने रणनीति नेकपाले बनाएको छ । यद्यपि, उनीहरू समानुपातिकको भोट पनि पहिलाभन्दा बढ्ने बताइरहेका छन् । उनीहरूले अहिले समानुपातिकको भोट १८ देखि २० लाख पुग्ने बताइरहेका छन् ।