रूसी जासूसी जहाज यान्तरले पहिलो पटक बेलायती राफ पाइलटहरूमाथि लेजर प्रहार गरेर उनीहरूको निगरानी कार्यमा बाधा पुर्याएको छ, जुन घटनालाई बेलायतको रक्षा सचिव जोन हिलीले “अत्यन्त खतरनाक” भनेका छन्। यो जहाज स्कटल्यान्डको उत्तरमा रहेको र यो वर्ष दोस्रो पटक बेलायती जलक्षेत्रमा प्रवेश गरेको बताइएको छ। हिलीले भनेका छन्, “हामी यान्तरलाई नजिकबाट निगरानी गरिरहेका छौं, यदि यो दक्षिणतर्फ गयो भने सैन्य कारबाहीका लागि पनि तयार छौं।” यो जहाज सन् २०१५ मा सेवा प्रवेश गरेको रूसको गहिरा समुद्री अनुसन्धान निर्देशनालय अन्तर्गतको विशेष जासूसी जहाज हो, जसले शान्तिकालमा निगरानी र युद्धकालमा समुद्र मुनिको सञ्चार केवल र पूर्वाधारमा क्षति पुर्याउने क्षमता राख्छ।
बेलायती रक्षा मन्त्रालयका अनुसार राफको पोसेडन P-8 विमान र रोयल नेवीको फ्रिगेटले यान्तरलाई पछ्याइरहेको बेला लेजर आक्रमण भएको थियो। यो घटनालाई बेलायतले रूसको “उत्तेजक र खतरनाक कदम” का रूपमा लिएको छ भने रूसी दूतावासले भने “हाम्रा गतिविधिले बेलायतको सुरक्षामा असर गर्दैन” भन्दै आरोप अस्वीकार गरेको छ। विशेषज्ञहरूका अनुसार यान्तरले समुद्र मुनिको इन्टरनेट केवलहरूको नक्साङ्कन गर्ने र आवश्यक परे तिनलाई काट्ने क्षमता राख्छ, जसलाई पश्चिमी देशहरूले ठूलो सुरक्षा जोखिम ठान्छन्। बेलायतले यो घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिएको र रूसलाई कडा सन्देश दिएको छः “हामी तिमीलाई देखिरहेका छौं, तिमीले के गरिरहेका छौ हामीलाई थाहा छ।”