नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंग्याएको छ । बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल, नवलपुरकी पद्मा जिसीको नाम एमालेले टुंग्याएको स्रोतले बताएको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ ।
पाठक र केसी खगराज अधिकारी निकट तथा बस्याल र जिसी पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन् । गुट र भूगोल समेत मिलाएर दलका नेता अधिकारीले आज बिहान मात्रै नाम टुंगो लगाएको उनी निकट स्रोतले बतायो । गण्डकीमा एमालेभित्र स्थायी कमिटी सदस्य खगराज र उपमहासचिव पृथ्वीसुब्बा समूहको गुटगत राजनीति छ ।
संसदीय दलका नेता खगराज अधिकारीले यसपटक मन्त्रीमा कुनै अनुहार नदोहोरिने बताएका थिए । आइतबार मात्र बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको कार्यक्षेत्र टुंग्याउँदै संख्या पनि ९ बनाएपछि एमालेले पनि मन्त्री हुनेको नाम टुंगो लगाएको हो । छानिएका कृष्ण पाठक बलात्कारको अभियोग लागेका कृकेट खेलाडीको पक्षपोषण गर्दा बिबाधित बनेका थिए ।