• Friday, October 17, 2025

नेपालको ऐतिहासिक जित: वेस्ट इन्डिजविरुद्ध पहिलो टी-२०आईमा सानदार विजय


काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक कोसेढुंगा कायम गरेको छ । शनिबार भएको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले बलियो टोली वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको हो । यो जितले नेपालले पहिलो पटक पूर्ण सदस्य राष्ट्रलाई टी-२०आईमा हराएर विश्व क्रिकेटमा आफ्नो दबदबा कायम गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रनको सम्मानजनक स्कोर बनायो । कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाएर टिमको इनिङ्सलाई सम्हाले । यस्तै, कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रनको आक्रामक पारी खेले । गुल्सन झाले २२ र दीपेन्द्रसिंह ऐरीले १७ रन जोड्दै मध्यक्रममा महत्वपूर्ण योगदान दिए ।

खेलको सुरुवातमा १२ रनमै २ विकेट गुमाएर संकटमा परेको नेपाललाई रोहित र मल्लले तेस्रो विकेटका लागि ५८ रनको महत्वपूर्ण साझेदारी गर्दै सम्हालेका थिए । यद्यपि, अन्तिम ओभरहरूमा राम्रो फिनिसिङ गर्न नसक्दा नेपाल १५० रनको आँकडा पार गर्नबाट रोकियो ।

वेस्ट इन्डिजका बलर जेसन होल्डरले घातक बलिङ गर्दै ४ ओभरमा २० रन दिएर ४ विकेट हात पारे । डेब्यू खेलाडी नविन विदायसीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने कप्तान अकिल होसेनले १ विकेट लिए ।

१४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले नेपाली बलरहरूको कसिलो बलिङ सामु २० ओभरमा ९ विकेट गुमाएर मात्र १२९ रन बनाउन सक्यो । नविन विदायसीले २२ रन बनाएर टिमको स्कोर सम्हाल्ने प्रयास गरे भने अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन जोडे । तर, नेपाली बलरहरूको निरन्तर दबाबका कारण वेस्ट इन्डिजको ब्याटिङ लय गुम्यो ।

नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन दिएर २ महत्वपूर्ण विकेट लिए । कप्तान रोहित पौडेल, करण केसी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान १-१ विकेट हात पार्दै वेस्ट इन्डिजको ब्याटिङ ध्वस्त पारे ।

ऐतिहासिक क्षण: पूर्ण सदस्य राष्ट्रविरुद्ध पहिलो जित

नेपालले भारत, अफगानिस्तान र बंगलादेशजस्ता टोलीहरूसँग विभिन्न मुख्य प्रतियोगितामा प्रतिस्पर्धा गरेको भए पनि हालसम्म पूर्ण सदस्य राष्ट्रलाई पराजित गर्न सकेको थिएन । तर, यो खेलमा नेपालले वेस्ट इन्डिजजस्तो बलियो टोलीलाई हराएर इतिहास रच्न सफल भयो । यो जितले नेपाली क्रिकेटको विश्व मञ्चमा नयाँ उचाइ थपेको छ ।

यो ऐतिहासिक विजयले नेपाली क्रिकेट समर्थकहरूमा उत्साहको लहर ल्याएको छ भने टिमको आत्मविश्वासलाई थप बलियो बनाएको छ । आगामी खेलहरूमा पनि यही जोश र जुझारुपन कायम राख्दै नेपालले विश्व क्रिकेटमा आफ्नो छाप छोड्ने अपेक्षा गरिएको छ ।

Please Login to comment in the post!

you may also like