काठमाडौं– नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका कार्यालय प्रमुखहरूलाई अनिवार्य रूपमा कार्यस्थल पुग्न निर्देशन जारी गरेको छ। जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ। यो अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले यस्तो सूचना जारी गरेको हो।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार, मन्त्रालय मातहतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई आजै (असोज १८) सम्म कार्यस्थल पुगेर बाढी, पहिरोजस्ता विपद्को पूर्वतयारी र प्रतिकार्यमा जुट्न आह्वान गरिएको छ। मन्त्रालयले कार्यस्थलमा उपस्थित भई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न जोड दिएको छ।यो निर्देशनले विपद् व्यवस्थापनमा सरकारी निकायहरूको तयारी र समन्वयलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।