• Tuesday, March 3, 2026

२६३औँ स्थापना दिवसमा नेपाली सेना: टुँडिखेलमा विशेष समारोह, शान्ति मिसनदेखि विकास निर्माणसम्म उल्लेखनीय योगदान


नेपाली सेना ले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज देशभर विविध कार्यक्रमका साथ मनाइरहेको छ। महाशिवरात्रिको अवसर पारेर हरेक वर्ष सेना दिवसका रूपमा यो दिन मनाउने परम्परा अनुसार यस वर्ष पनि विशेष समारोह आयोजना गरिएको हो। राजधानीको सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेल को प्रमुख आतिथ्यमा महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष कार्यक्रम हुँदैछ। समारोहमा शिवरात्रि बढाइँ, सैनिक परेड, तोप बढाइँ, कवाज प्रदर्शन तथा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ।

जङ्गीअड्डाअन्तर्गतका पृतना, बाहिनी, गण र गुल्महरूका साथै विदेशस्थित कूटनीतिक नियोग र शान्ति मिसनहरूमा पनि छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी सेना दिवस मनाइँदैछ। नेपाली सेनाले राष्ट्रको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्दै विभिन्न कालखण्डमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। सैनिक वीर पुर्खाहरूको साहस, वीरता र बलिदानकै जगमा आधुनिक नेपाल राष्ट्रको निर्माण सम्भव भएको ऐतिहासिक तथ्यलाई स्मरण गर्दै सेनाले आफ्नो गौरवशाली परम्परालाई निरन्तरता दिँदै आएको छ।वि.सं. १८१९ सालदेखि वर्तमान साङ्गठनिक स्वरूपमा विकसित भएको नेपाली सेना अनुशासन, ‘चेन अफ कमान्ड’ र राजनीति निरपेक्ष चरित्रका लागि परिचित छ। राष्ट्रिय एकता सुदृढ राख्नु सेनाको संवैधानिक जिम्मेवारी भएकाले संगठनभित्र एकता, समर्पण र कर्तव्यनिष्ठालाई उच्च मूल्यका रूपमा स्थापित गरिएको छ। पछिल्ला वर्षहरूमा सेनामा समावेशिता अभिवृद्धि हुँदै गएको छ भने महिला सहभागिता उल्लेखनीय रूपमा बढेको छ।

अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली सेनाले भरपर्दो र विश्वसनीय फौजको छवि निर्माण गर्न सफल भएको छ। संयुक्त राष्ट्रसङ्घ को आह्वानमा सन् १९५८ देखि शान्ति स्थापनामा सहभागिता जनाउँदै आएको नेपाली सेनाले हालसम्म ४४ वटा शान्ति मिसनमा एक लाख ६२ हजार ४९६ भन्दा बढी शान्ति सैनिक परिचालन गरिसकेको छ। विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्ने क्रममा ७४ नेपाली सैनिकले जीवन बलिदान दिएका छन् भने ७७ जना घाइते भएका छन्। हाल १० वटा मिसनमा ३९१ महिलासहित चार हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन्। महिला सैनिक परिचालन गर्ने मुलुकहरूको सूचीमा नेपाल अग्रस्थानमा रहनु सेनाको उपलब्धिका रूपमा लिइएको छ।नेपाली सेनाका तालिम केन्द्रहरू अन्तर्राष्ट्रिय स्तरमै आकर्षणको केन्द्र बन्दै गएका छन्। भक्तपुरको खरिपाटीस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, सैनिक शिक्षालय तथा शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा विभिन्न देशका सैनिक अधिकृतहरू तालिम लिन आउने गरेका छन्। यसले नेपालको सैन्य दक्षता र व्यावसायिक क्षमतालाई विश्वमञ्चमा स्थापित गर्न सहयोग पुगेको छ।

रक्षा जिम्मेवारीका अतिरिक्त सेनाले विपद् व्यवस्थापन, खोज तथा उद्धार, सडक पूर्वाधार निर्माण र राष्ट्रिय गौरवका आयोजनाहरूमा समेत सक्रिय योगदान दिँदै आएको छ। सेनाकै व्यवस्थापनमा काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माण कार्य अघि बढिरहेको छ। साथै ऐतिहासिक दरबार, गढी, सङ्ग्रहालय, विद्युत् गृह तथा प्राकृतिक सम्पदाको संरक्षण, हिमाल सफाइ अभियान र विकास निर्माणका विविध कार्यमार्फत सैनिक–नागरिक सम्बन्ध सुदृढ बन्दै गएको छ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाको नेतृत्वमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ। यसले राष्ट्रिय सुरक्षासँगै लोकतान्त्रिक प्रक्रियाको संरक्षणमा पनि सेनाको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पार्दछ। सेना दिवसका अवसरमा सैनिक इतिहास, योगदान र भविष्यको दायित्वप्रति पुनः प्रतिबद्धता व्यक्त गर्दै नेपाली सेनाले राष्ट्रसेवाको आफ्नो अभियानलाई निरन्तर अघि बढाउने जनाएको छ।

Please Login to comment in the post!

you may also like