• Thursday, October 16, 2025

दोबाटोको सपना


गाउँको पुछारमा रहेको एउटा पुरानो घर, जहाँ कहिल्यै नफर्किने छायाहरूको बास थियो। त्यही घरको आँगनमा, एउटा बिहान यस्तो जन्मिएको थियो, जसले सपना भन्दा भारी पीडा र चाहनाभन्दा गहिरा विवशताहरूलाई उजागर गर्‍यो। एक युवक, बाबुको मौन विश्वास, आमाको ओठको मुस्कान र साना छोराछोरीका सपनाहरूको बिम्ब बोकेर घरबाट निस्कियो। बाबुले गोठको लैनो भैंसी बेचिदिए, खलिहानको अन्तिम मुठा धान साटिदिए—र छोराको हातमा एउटा पासपोर्ट थमाए। त्यो पासपोर्ट विदेशी धर्तीमा पाइला टेक्ने टिकट मात्र थिएन, त्यो त एउटा पुस्ताको आस्था, पीडा र आसुको समर्पण थियो। युवकको सपना ठूलो थिएन—बाको उपचार, आमाको सुख, र बच्चाहरूको भविष्य मात्र थियो। तर ऊ फर्किएन। फर्कियो त केवल खबर—"साँझ ऊ डेरामा पुगेन।"

त्यही घरबाट अर्को बिहान निस्किएको थियो अर्काे छोरो। ऊ कलेजको युनिफर्ममा थिए, झोलामा किताबसँगै देश बदल्ने सपना बोकेका थिए। त्यस झोलाभित्र ‘राजनीति शास्त्र’ को किताब मात्र थिएन, त्यहाँ क्रान्तिको बीउ थियो—जसले उसको मनभित्र आगो बलाएको थियो। ऊ नारा र परिवर्तनको बाटोमा हिँडेको थियो, जसले उसलाई भिडतर्फ, संघर्षतर्फ र अन्ततः अनिश्चिततातर्फ डोर्‍यायो। केही दिनपछि, उसको घरमा पनि आइपुग्यो एउटै स्वरको चिसो खबर—"तपाईंको छोरा हराएका छन्।" कानून मौन रह्यो, राजनीति चुप लाग्यो। केवल एक आमा थिइन्, जसको काख फेरि रित्तो भयो। उनले न आँसु रोक्न सकिन्, न आफ्ना छोराहरूको खोजी छोड्न सकिन्।आफ्ना हराएका छोराहरूको खोजीमा उनी शहरका गल्ली गल्ली, चोक चोकमा भौतारिइन्। कहिले लाग्थ्यो—भीडभित्र कुनै आवाज चिच्याउँछ, "आमा!" कहिले लाग्थ्यो—"इन्कलाब जिन्दाबाद!" भन्छ कसैले, त्यो उसकै छोरो हो। ती आवाजहरू कहिल्यै स्पष्ट हुँदैनथे, जसरी अधुरा थिए ती युवाहरूका सपना। ती सपना, जसले बाटो खोजे तर बाटोले नै तिनीहरूलाई गुमायो।एक साँझ, उनी एउटा दोबाटोमा आइपुगिन्। त्यो दोबाटो—जहाँबाट उनका छोराहरू निस्केका थिए, तर कहिल्यै फर्किएनन्। त्यहीँ, उनको दृष्टि पर्यो—एउटा खिइएको जुत्तामा। त्यो जुत्ता जेन-जी साइजको थियो, ठ्याक्कै त्यही साइज, जुन उनका कान्छा छोराले लगाउँथे। तलुवा च्यातिएको, तुनाहरु झुन्डिएको, र छेउमा रगतको टाटो लागेको त्यो जुत्ता अब कपडाको टुक्रा थिएन। त्यो त पीडाको इतिहास थियो—एक आमाको जिन्दगीको प्रमाण, जसको एउटा खुट्टा सदाको लागि हराइसकेको थियो।उनको घुँडा झर्‍यो। आँखाभरि छोरो झल्झल्यायो—तीनै आँखा जसमा विद्रोह थियो, ती ओठ जसमा सपना थियो, र ती पाउ जुन क्रान्तिको बाटोमा निस्किएका थिए। उनले जुत्ता समाइन्, चिहाइन्। हृदयमा पीडा हिलोझैँ फैलिँदै गयो। “के उसले रगतपछ्ये खुट्टाले हिँड्नुपर्‍यो?” “कुन मोडले लुट्यो उसको सपना?” ती प्रश्नहरू उनले आत्मालाई गरिरहिन्, तर उत्तर पाउन सकिनन्। जुत्ता बोल्दैनथ्यो—तर सारा पीडाले बोलिरहेको थियो।त्यो जेन-जी जुत्ता अब केवल एउटा फ्यालिएको वस्त्र थिएन। त्यो त हजारौं आमाका हराएका छोराहरूको प्रतीक थियो। त्यो विगतको पीडा थियो, अधुरो सपना थियो, र मौन आर्तनादको स्मारक थियो—जसले बाँचेकाहरूलाई प्रश्न गरिरहन्छ, “हामी कहाँ चुक्यौं?” "कसरी हामीले आफ्नै छोराहरूलाई हराउन दियौं?"यो कुनै अन्त्य थिएन—यो त प्रतीक्षा थियो। प्रतीक्षा एक आमाको—जो हरेक साँझ छोराको पाइला सुनिन्थ्यो कि भनेर कान ठाडा पारेर बस्छिन्।

प्रतीक्षा एक पुस्ताको—जसले देश बदल्ने सपना देखे, तर अधुरै रह्यो। प्रतीक्षा ती जुत्ताहरूको—जसले बाटो त नापे, तर गन्तव्यमा कहिल्यै पुग्न पाएनन्। र त्यो दोबाटो, जहाँ बाटाहरू छुट्छन्, तर भविष्यहरू हराउँछन्—त्यहाँ अझै पनि त्यो जेन-जी जुत्ता मौन भएर साक्षी बसिरहेको छ।

Please Login to comment in the post!

you may also like