• Thursday, March 5, 2026

बेड नम्बर २४४ मा हराएको तिहार


भाद्र २३ गतेको त्यो दिन कोटेश्वरको घडी पसलमा गीता साह सामान्य जीवन बिताइरहनुभएको थियो। माइतीघरबाट सुरु भएको जेनजी आन्दोलनको लहर कोटेश्वरसम्म पुग्ला र आफ्नो जीवनमा यति ठूलो आँधी ल्याउला भन्ने उहाँलाई कहिल्यै थाहा थिएन। तर नियतिले ठिक उल्टो लेखिदियो।सप्तरीकी ४८ वर्षीया गीताको पसल प्रहरी चौकीको छेउमै थियो। ठूलो भिड कोटेश्वरतिर आइपुगेपछि उहाँ कौतुहलवश बाहिर निस्कनुभयो। हेर्दाहेर्दै प्रदर्शन उग्र बन्दै गयो। कतैबाट उछिट्टिएको पेट्रोलको आगो उहाँको शरीरमा सल्कियो। उद्धारकर्ताहरूले उहाँलाई कान्तिपुर अस्पताल पुर्‍याए, तर त्यहाँ पनि आन्दोलनकारीको भिडले सिनामंगलको काठमाडौँ मेडिकल कलेज (केएमसी) लैजानुपर्‍यो।अहिले उहाँ केएमसीको प्लास्टिक सर्जरी पोष्ट अपरेटिभ वार्डको बेड नम्बर २४४ मा जीवन र मृत्युबीचको सङ्घर्ष गरिरहनुभएको छ। शरीरको १८ प्रतिशत भाग जलेको छ— कम्मरमुनि र दायाँ हात सबैभन्दा बढी। अस्पतालको कठोर शय्यामा सुतिरहनुपर्दा उहाँको पीडा दोब्बर भएको छ। घाउ सफा गर्दा उहाँको चिच्याहट वार्डभरि गुन्जिन्छ।दसैँको बेला उहाँलाई सबैभन्दा नरमाइलो लाग्यो। बेडमै थुनिएर दसैँको रौनक देख्नुभयो, तर छुन पाउनुभएन। तिहारअघि डिस्चार्ज हुने आशा थियो, तर चिकित्सकहरूले निगरानीमै राखे। “बाहिर त झिलिमिली छ, रङ्गीचङ्गी छ, सबैमा उत्साह छ; मलाई त दसैँ–तिहार अस्पतालको शय्यामै बिताउनुपर्‍यो,” उहाँको स्वरमा निराशा पोखिन्छ।हरेक वर्ष तिहारमा उहाँ घर–पसल सजाउनुहुन्थ्यो।

तिहारले उहाँको मनमा बेग्लै खुसीको फूल फुलाउँथ्यो। यो वर्ष घर सजिएन। “मनमा उत्साह नै नभएपछि सजाउनुको अर्थ के?” उहाँ भन्नुहुन्छ, “डेढ महिना पुग्न लाग्यो, बेडमै बस्दाबस्दा म थाकिसकेँ।”उहाँ अस्पतालमा भएपछि पसल छोरा राहुलले सम्हाल्दै आएका छन्। “छोरा विदेश जाने तयारीमा थियो, म नै यहाँ परेपछि उसको भविष्य के हुने हो, थाहा छैन,” उहाँको चिन्ता छोरातिर सोझिन्छ।केएमसीकै हाई केयर युनिटमा काभ्रेका २७ वर्षीय कमल घिमिरे जीवनको लडाइँ लडिरहनुभएको छ। उहाँका आमाबुबा भक्तपुरको राधेराधेमा गाई फार्म चलाउनुहुन्छ। कमलले पनि आमाबुबालाई सघाउँदै आएका थिए।भाद्र २३ गते दूध पुर्‍याउन बानेश्वर आउनुभएका कमल घर फर्किंदै थिए। काठमाडौँको अवस्था असामान्य भइसकेको थियो। बानेश्वर तनावग्रस्त थियो— पानीको फोहरा, अश्रुग्यास, अनि गोली। उहाँ एकछिन हेर्न रोकिनुभयो, गोली छातीमा लाग्यो।

काका प्राणनाथ घिमिरेका अनुसार गोलीले फोक्सोमा गम्भीर क्षति पुर्‍यायो। केही दिन बोल्नै नसक्ने अवस्थामा पुग्नुभयो, अहिले बल्ल बोल्न सक्नुहुन्छ। “सरकारले उपचार निःशुल्क गरे पनि औषधि र खानाको खर्च महँगो छ, हामीलाई निकै गाह्रो परेको छ,” काका भन्नुहुन्छ, “छातीको दायाँ भागमा ठूलो घाउ छ, निको हुन समय लाग्छ।”शारीरिक पीडा त छँदैछ, तर चाडबाडको बेला अस्पतालको बेडमै थुनिनुपर्दा कमललाई घरपरिवारको यादले बढी सताउँछ। पटक–पटक शल्यक्रिया गर्नुपर्ने भएकाले कहिले निको हुने टुङ्गो छैन।जेनजी आन्दोलनका घाइतेहरू काठमाडौँका अन्य अस्पतालमा पनि छन्। स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा चार, त्रिवि शिक्षण अस्पतालमा तीन, बी एन्ड बीमा एक र नोबेलमा एक गरी देशभर ११ जना उपचाररत छन्। आन्दोलनमा घाइते दुई हजार पाँच सय ७१ जना अस्पताल पुगेका थिए। यी घाउहरू केवल शरीरमा मात्र होइनन्, उनीहरूको सपना, चाडबाड र परिवारको सुखमा पनि गहिरो चोट लागेको छ।

Please Login to comment in the post!

you may also like