भारतको जम्मू–कश्मीरस्थित श्रीनगरको नौगाम प्रहरी चौकीभित्र भएकाे शक्तिशाली विस्फोटमा ९ जनाको मृत्यु भएको छ भने २७ प्रहरीसहित ३२ जना घाइते भएका छन्। विस्फोट बुधबार राति करिब ११:२० बजे भएको भारतीय अधिकारीहरूले जनाएका छन्।
पत्रकार सम्मेलनमार्फत जम्मू–कश्मीरका डीजीपी नलिन प्रभातले एफएसएल (फरेन्सिक साइन्स ल्याब) टोलीले सावधानीपूर्वक नमुना संकलन गरिरहेको क्रममा अचानक विस्फोट भएको बताए।उनले भने, "एफएसएल टोलीले नमुना लिने प्रक्रिया अत्यन्त सावधानीपूर्वक गरिरहेको थियो, तर दुर्भाग्यवश राति करिब ११:२० बजे दुर्घटना भयो। यस घटनाबारे कुनै पनि अनुमान लगाउनु बेकार छ।"डीजीपीका अनुसार विस्फोटमा मृत्यु हुनेमध्ये एफएसएलका ३ कर्मचारी, २ जना राजस्व अधिकारी तथा अन्य सरकारी कर्मचारी छन्।घाइतेमध्ये २७ प्रहरी, २ राजस्व अधिकारी र ३ सर्वसाधारण रहेका छन्।घाइते सबैलाई नजिकैको अस्पतालमा भर्ना गरि उपचार भइरहेको छ। विस्फोटका कारण प्रहरी चौकीको भवनमा ठूलो क्षति पुगेको छ भने छिमेकी घर–भवनहरू पनि प्रभावित भएका छन्।
यसअघि भारतीय समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै भनेको थियो कि ‘ह्वाइट-कलर’ आतंक मोड्युल सम्बन्धी मुद्दाका लागि हरियाणाको फरीदाबादबाट ल्याइएको विस्फोटक पदार्थको नमुना संकलन गर्ने क्रममा विस्फोट भएको थियो।