• Thursday, March 5, 2026

जनार्दन शर्मासँग को–को छन् र को–कोले साथ दिएनन्?


काठमाडौ । माओवादी पार्टीलाई पुनर्गठन गर्ने उद्देश्यसहित नयाँ राजनीतिक अभियान सुरू गरेका नेता जनार्दन शर्माले अपेक्षित समर्थन पाउन नसकेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत वाम दलहरूबीचको एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले ‘प्रगतिशील अभियान, नेपाल’ नामक संरचना घोषणा गरेका थिए । तर, उनलाई नजिक मानिँदै आएका नेताहरूले समेत अन्तिम चरणमा साथ नदिने देखिएको छ, जसले शर्माको नयाँ अभियान सुरुआतमै कमजोर हुने संकेत दिएको छ।

१८ कात्तिकमा आयोजित पत्रकार सम्मेलनमार्फत शर्माले माओवादी पार्टीलाई पुनर्गठन गर्दै ‘प्रगतिशील अभियान’ अगाडि बढाउने घोषणा गरेका थिए। तर, उनले त्यो सम्मेलनमा ‘माओवाद’बारे कुनै प्रसंग उठाएनन्, जुन कुराले पनि धेरै पूर्वसहयोगी नेता उनीबाट टाढिन थालेको टिप्पणी गरिएको छ। पार्टीभित्रै विधि–विधान र पद्धतिगत कमजोरीका विरुद्ध वर्षौँदेखि संघर्ष गर्दै आएका शर्माले प्रचण्ड नेतृत्वले दशकौँको संघर्षका आदर्श र पछिल्ला युवा आन्दोलनका भावना बेवास्ता गरेकाले आफू एकताको बाटो छोडेर बाहिरिएको बताएका थिए।

तर, शर्माको यो अडानलाई धेरैले उचित समय नठानेको स्पष्ट देखियो। पूर्वमन्त्री शिवकुमार मण्डलले अहिलेको आवश्यकता एकता भएकाले विभाजन असामयिक भएको बताएका छन्। उनका अनुसार, “शर्मा दाइले उठाएका विषयहरू गलत छैनन्, तर अहिले सबै वामपन्थी एकताबद्ध हुनुपर्ने समय हो। विभाजनले फाइदा गर्दैन।” मण्डलले आफू माओवादी केन्द्रमै बसेर विधि–विधानका मुद्दाहरू उठाइरहने बताए।

शर्माले पार्टीभित्र संघर्ष चलाउँदा धेरै नेताहरू उनको पक्षमा उभिएका थिए। तर, उनी अलग्गै अभियानमा लागेपछि त्यो समर्थन धराशायी भएको छ। उनका निकट मानिने पूर्वसचिव राम कार्की र केन्द्रीय सदस्य सुदन किराँती मात्र खुलेर उनलाई साथ दिएका छन्।

कोशी प्रदेशमा त शर्माको ठोस प्रभाव थियो। तर, उनले पार्टी फुटाउँदा कोही पनि खुलेर उभिएनन्। प्रदेश अध्यक्ष हर्क नेम्वाङका अनुसार, सिद्धान्तगत बहस गर्नु र पार्टी फुटाउनु फरक कुरा हो। “विधि–पद्धतिको बहस भनेको पार्टी चलायमान बनाउन हो, फुटाउन होइन,” उनले भने।

कोशीमै शर्मापक्ष मानिएका इन्द्र आङ्बो, गेम्बु शेर्पा, शिवकुमार मण्डललगायत नेता पनि अन्तिममा मूल पार्टीकै पक्षमा उभिए। अन्य प्रदेशहरूमा पनि समान अवस्था देखियो।

बागमती प्रदेशमा त शर्मालाई खुलेर समर्थन गर्ने नेता एकजना पनि देखिएनन्। प्रदेश अध्यक्षका लागि उम्मेदवार बनेका दीनानाथ गौतमले समेत आफू एकताको पक्षमा रहेको स्पष्ट पार्दै शर्माबाट दूरी बनाए। पहिले शर्मालाई साथ दिँदै आएका हीरानाथ खतिवडा, बमध्वज तामाङ, सर्केस घनाल, आर.सी. अधिकारी, युवराज चौलागाईंलगायत नेता अहिले पार्टीमै सक्रिय रहेको माओवादी स्रोतले बताएको छ।

गण्डकी प्रदेशमा आमन्त्रित केन्द्रीय सदस्य क्षितिज सापकोटा मात्र खुलेर उनको पक्षमा उभिएका छन्। पहिले साथ दिने हरि अधिकारी र दीपक कोइराला अहिले मूल पार्टीमै सक्रिय रहेको गण्डकीका एक नेताले बताए।लुम्बिनी प्रदेशमा पनि प्रारम्भमा साथ दिने धेरै नेताहरू अन्तिममा छुट्टिए। यहाँ शर्माका भाइ जगप्रसाद शर्मा, बहिनी नारायणी शर्मा र प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने मात्रै खुलेर उभिएका छन्। अन्य केन्द्रीय सदस्यहरूले भने पार्टी फुटाउने निर्णयलाई असमयिक र असङ्गत बताउँदै साथ छोडे।

कर्णाली प्रदेशलाई शर्माको मूल आधार मानिन्थ्यो। प्रारम्भमा उनीप्रति उत्साहपूर्ण समर्थन देखिने कर्णालीमै अहिले उनका नाता–कुटुम्ब बाहेक अन्य कोही खुलेर साथ दिन तयार देखिएनन्। एक स्थानीय नेताले भने, “उहाँले पार्टीमै बसेर संघर्ष गर्छु भन्नुभएको बेला धेरैले साथ दिएका थियौँ। तर पार्टी फुटाउनेसम्म पुग्दा त्यस्तो निर्णयमा साथ दिन कठिन भयो।”रुकुम पश्चिम, शर्मा रहेको गृहक्षेत्रमा पनि अधिकांश नेता–कार्यकर्ता मूल पार्टीमै बसेका छन्। प्रदेश अध्यक्ष विमला केसीका अनुसार, रुकुम पश्चिमका २० जति केन्द्रीय सदस्यमध्ये एकजना मात्रै उनको पक्षमा खुलेका छन्।


सुदूरपश्चिम प्रदेशमा पनि अपेक्षित रूपमा समर्थन जुटेन। केन्द्रीय सदस्य भगत बडवाल, टेकेन्द्र भट्ट, दीपक साउद, पुष्प न्यौपाने, अच्युत भट्ट र विमला सिंह मात्र उनको पक्षमा उभिएका छन्। जबकि, पहिले प्रदेश कमिटीमै आधा–आधा विभाजन भएको बताइए पनि अन्तिममा थोरैमात्र नेताहरूले साथ दिएका छन्।

मधेश प्रदेशमा त अहिलेसम्म एक जना पनि नेता खुलेर उनको पक्षमा उभिएका छैनन्। स्थायी समिति सदस्य अञ्जना विशंखेले सुरुमा साथ दिए पनि अहिले पुनः मूल पार्टीमा फर्किएकी छन्।


माओवादी केन्द्रभित्र प्रचण्डविरुद्ध खुला चुनौती दिंदै लामो समयसम्म विभाजन नछोडेका नेता शर्माले आफैंले पार्टी फुटाउँदा भने पुराना सहयोगीहरू समेत उनीबाट टाढिएको स्पष्ट देखिएको छ। धेरै नेताहरूको भनाइमा अहिले वामदलबीच एकता र संगठन सुदृढीकरणको आवश्यकता बढिरहेको वेला विभाजनले पार्टी र आन्दोलन दुवै कमजोर बनाउने खतरा छ।

शर्माले उठाएका मुद्दा धेरैलाई स्वीकार्य भए पनि पार्टी–पुनर्गठनका नाममा गरिएको असमयिक विभाजनले उनको ‘प्रगतिशील अभियान’ सुरुमा नै सङ्कटमा परेको प्रस्ट देखिन थालिएको छ।

Please Login to comment in the post!

you may also like