• Wednesday, March 4, 2026

नातिनातिना पुस्तासँग ‘भिडन्त’ मनोदशामा एमाले अध्यक्ष ओली


केपी ओलीले माइतीघरको मञ्चबाट जब “नेशनल भोलेन्टियर फोर्स” को झण्डा उचाले, आकाशमा बादलहरू एकछिन अडिएर हेरे। तल सडकमा उभिएका नाति–नातिनाहरूको रगतको टाटो सुक्न नपाउँदै हजुरबा फेरि लडाइँको बिगुल फुक्दै थिए। मंसिरको चिसो हावामा हिंसाको धुवाँ मिसियो, अनि लाग्यो– इतिहास आफैंलाई दोहोर्‍याएर हाँस्दैछ।

शान्ति सम्झौताको बीसौँ वसन्तमा पनि द्वन्द्वका घाउहरू कोट्याइँदै छन्। ती घाउहरूमा नुन हाल्ने हात आज फेरि सत्ताको सिँढी चढ्न हतारिएका छन्। ओलीको यो फोर्स कुनै नयाँ कुरा होइन; यो त उनकै पुरानो छायाँ हो, जुन जेनजी विद्रोहको उज्यालोमा एकछिन लुकेको थियो, फेरि कालो बादल बनेर उभिएको छ।

सिमराको धुलोमा रक्षा बमले जसरी संयमको फूल रोपेकी छिन्, त्यो फूलको सुगन्धले ओलीको पाइपको धुवाँलाई लज्जाबोध गराइरहेछ। युवतीको ओठमा बुद्धको शान्ति छ, वृद्धको ओठमा युद्धको आगो। यो दृश्य हेर्दा लाग्छ– समयले उल्टो बग्दैछ। जोसको उमेरमा विवेक फलिरहेछ, विवेकको उमेरमा आवेग जलिरहेछ।

राजासँग लड्दा जनता साथमा थिए। माओवादीसँग लड्दा कार्यकर्ता साथमा थिए। अहिले त साथमा केवल डर र सत्ताको भोक मात्र बाँकी छ। नाति–नातिनासँग लड्ने हिम्मत त कायरहरूले पनि गर्छन्, तर उनीहरूको चेतनासँग लड्ने हिम्मत कहिल्यै कसैले गरेन। चेतना त आगो होइन, उज्यालो हो; जति आँखा चिम्लिए पनि त्यो आफैं फैलिन्छ।पहाडका बूढा रुखहरू हल्लिएर हेर्छन्– तलका नयाँ बिरुवाहरू कति शान्त छन्। उनीहरू तोडफोड गर्दैनन्, केवल जरा गाड्छन्। पुरानो रुख जति चर्को स्वरले कराए पनि, माटो त नयाँ बिरुवाकै हुन्छ। ओलीले जति ठूलो स्वरमा “भिड्ने हो, दिने हो” भने पनि, रक्षाले मुस्कुराउँदै भनिरहेकी छिन्– “हामी त्यस्तै बन्दैनौँ, जसलाई हटाउन हामी सडकमा उत्रेका हौँ।”

यो देशको आकाशमा अब पुरानो बादल होइन, नयाँ तारा उदाउँदैछ। तारा चम्किन हिंसाको धुवाँ चाहिँदैन, केवल संयमको खुला आकाश चाहिन्छ।त्यो आकाश बनाउने हात नातिनीहरूको हो, होइन भने इतिहास फेरि रगतको अर्को अध्याय लेख्न बेर लाउँदैन।

ओलीको लडाइँ  फेरि बिगुल फुक्दैछ भने एकपटक सोध्नुस् त आफैँलाई–यो बिगुल कोसँग लड्न फुक्दैछ?नातिनीहरूको मुटुसँग कि उनीहरूको सपनासँग सपनासँग लड्नेहरू इतिहासमा कहिल्यै जितेका छैनन्, केवल हारेर नाम लेखाएका छन्।मंसिरको चिसो साँझमा एउटा सानो आवाज आइरहेछ–“संयम नै हाम्रो शक्ति हो।”त्यो आवाज सुन्दा लाग्छ, अब यो देशको भविष्य हिंसाको होइन, विवेकको पाइला चाल्नेछ।र, विवेकको पाइलामा कहिल्यै रगत लाग्दैन।

Please Login to comment in the post!

you may also like