• Thursday, March 5, 2026

प्रवासी नेपालीलाई मताधिकार दिने गरी अध्यादेशको तयारी


काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने गरी अध्यादेश ल्याउने तयारी गरेको छ । यसका लागि गृह मन्त्रालयले सम्बन्धित ऐनहरू संशोधनको मस्यौदा तयार पारेको छ ।

गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐनमा संशोधन गरी विदेशमा बस्ने नेपालीलाई मत हाल्ने अधिकार सुनिश्चित गर्न लागेको हो । उक्त मस्यौदा सुझावका लागि निर्वाचन आयोगमा पठाइएको छ ।

मन्त्रालयको कानुन महाशाखा प्रमुख एवं सहसचिव भरतमणि रिजालका अनुसार, विदेशमा बस्ने नेपाली मतदाताहरूलाई विदेशबाटै मत हाल्न दिने विषयमा छलफल जारी छ ।

‘विदेशमा बस्ने नेपालीलाई समानुपातिकतर्फ भोट हाल्न दिने गरी ऐन संशोधनको प्राविधिक मस्यौदा तयार भएको छ । उक्त मस्यौदालाई निर्वाचन आयोगमा पठाएका छौं । उताबाट सुझाव आएपछि थप छलफल हुन्छ,’ सहसचिव रिजालले बताए ।

यस संशोधनले लाखौं प्रवासी नेपालीको मताधिकारलाई प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ । निर्वाचन आयोगबाट सुझाव प्राप्त भएपछि मस्यौदा मन्त्रिपरिषद्मा पेश गरी अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढ्ने जनाइएको छ

Please Login to comment in the post!

you may also like