काठमाडौं । एक थिएटर नेपालको प्रस्तुति रहेको नाटक ‘खमारीः मौन संवाद’ फेरि मण्डला थिएटरमा मञ्चन हुने भएको छ।
यस अघि यही भदौ १९ गतेदेखि २९ गतेसम्म मञ्चन हुने तालिका बनाइएको उक्त नाटक जेन जी आन्दोलनका कारण भदौ २२ गतेबाट स्थगित गरिएको थियो। अब नाटक कात्तिक १३ गतेदेखि २० गतेसम्म पुनः मण्डला थिएटरमा मञ्चन हुने निर्देशक तथा परिकल्पनाकार मणि के. राईले जानकारी दिएका छन्।
नाटकमा ‘खमारी’ नामक एक दुर्लभ रुखलाई प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। मानिसहरूले आफ्ना स्वार्थका लागि प्रकृतिको अन्धाधुन्ध दोहन गर्दा सिर्जना भएको जलवायु परिवर्तन र वातावरणीय संकटलाई केन्द्रमा राख्दै नाटक निर्माण गरिएको हो।
कथाले एक बालकको दृष्टिबाट खमारी रुखको बिरुवा हुर्काउनुपर्ने संघर्षलाई फिजिकल प्ले (शारीरिक अभिनय) मार्फत अभिव्यक्त गरेको छ।
नाटकमा सौजन सेनेहाङ्ग, प्रिया लम्जेल, आरुशी राई, मुस्कान राउत, प्रेम चन्द्र पाण्डेय, युगल श्रेष्ठ, सोनिया राई, डिलेन्द्र राई, देबिका राई, ममता साम्पाङ्ग राई, शक्ति राई, रेनुका घर्ती मगर र रञ्जना नेपालीको उत्कृष्ट अभिनय रहेको छ।
नाटकले मानव र प्रकृतिबीचको मौन संवादमार्फत प्रकृतिप्रतिको संवेदना र जिम्मेवारीको सन्देश दिन खोजेको छ।