रूस–युक्रेन युद्ध अन्त्यतर्फको कूटनीतिक प्रयास निर्णायक मोडमा पुगेको संकेत देखिन थालेको छ। रूस, अमेरिका र युक्रेन—तीनै पक्षले करिब चार वर्षदेखि चलिरहेको पूर्णस्तरीय युद्ध अन्त्य गर्ने सम्झौता नजिकिएको स्वीकार गरेका छन्। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शब्दमा भन्नुपर्दा, “एक–दुई अत्यन्तै काँडेदार र कठिन विषय” अझै समाधान हुन बाँकी छन्, जसले सम्झौतालाई जुनसुकै बेला जोखिममा पार्न सक्छ।वासिङ्टनले अघि सारेको २० बुँदे शान्ति योजनामा सबैभन्दा जटिल विषय युक्रेनको भू–भागसम्बन्धी विवाद र युरोपकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र—जापोरिज्झिया न्यूक्लियर प्लान्टको भविष्य हो। यी दुवै विषयमा सानो चुकले पनि सम्भावित शान्ति सम्झौता धरापमा पर्न सक्ने अवस्था छ।क्रेमलिनले वार्ता “अन्तिम चरणमा” पुगेको बताइरहँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की जनवरी ६ मा फ्रान्समा युरोपेली नेताहरूसँग भेट गर्ने तयारीमा छन्। तर, राजनीतिक इच्छाशक्ति हुँदाहुँदै पनि व्यवहारिक अवरोधहरू अत्यन्तै गहिरा देखिन्छन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको औद्योगिक मुटु मानिने डोनबास क्षेत्रमाथि आफ्नो ‘अधिकतमवादी’ मागबाट पछि हट्ने संकेत दिएका छैनन्। डोनबास अन्तर्गत पर्ने लुहान्स्क क्षेत्रको अधिकांश भाग रूसी नियन्त्रणमा छ भने डोनेत्स्कको करिब ७५ प्रतिशत भूभाग कब्जामा छ। तर पुटिनको चाहना त्यतिमा सीमित छैन। उनी स्लोभियान्स्क र क्रामाटोर्स्कजस्ता अझै युक्रेनको नियन्त्रणमा रहेका ‘फोर्ट्रेस बेल्ट’ सहरहरू समेत पूर्ण रूपमा लिन चाहन्छन्।यसको विपरीत, राष्ट्रपति जेलेन्स्कीले सीमित समझौताको प्रस्ताव अघि सारेका छन्। उनका अनुसार, यदि रूसी सेना पनि उस्तै दूरीमा पछि हट्ने हो भने युक्रेनी सेना डोनबासको केही भागबाट फिर्ता भएर त्यहाँ असैनिकीकरण (demilitarised) वा स्वतन्त्र आर्थिक क्षेत्र बनाउने विषयमा छलफल हुन सक्छ। त्यस क्षेत्रमा अन्तर्राष्ट्रिय सुरक्षा बल तैनाथ गर्ने प्रस्ताव पनि उनले राखेका छन्।
तर, पुटिन यसमा सहमत हुने सम्भावना न्यून देखिन्छ। रूसी सेनाका जनरलहरूले वर्तमान गतिमा आक्रमण जारी रहे युक्रेनी भूभाग क्रमशः हात पार्न सकिने दाबी पुटिनसमक्ष राखिसकेका छन्। पुटिनले सार्वजनिक रूपमै “यदि कीभले शान्तिपूर्ण समाधान चाहेन भने हामी सैन्य माध्यमबाटै समस्या समाधान गर्छौँ” भन्दै चेतावनी दिएका छन्।युद्धको थकान दुवै पक्षमा देखिए पनि ‘इन्स्टिच्युट फर द स्टडी अफ वार’का विश्लेषकहरूका अनुसार हालको गतिमा नै रूसी सेना अघि बढे बाँकी डोनेत्स्क नियन्त्रणमा लिन सन् २०२७ को अगस्टसम्म लाग्न सक्छ। त्यो पनि, अहिलेको आक्रमण क्षमतामा निरन्तरता कायम रह्यो भने मात्र।जेलेन्स्कीको प्रस्तावले डोनबास बाहेक अन्य क्षेत्रहरू—खार्किभ, सुमी, दिनिप्रोपेत्रोभ्स्क र दक्षिणको मिकोलाइभ—जहाँ रूसको सीमित सैन्य उपस्थिति छ, त्यहाँबाट पनि रूसी सेना फिर्ता हुनुपर्ने माग राख्छ। यही कारण, डोनबासमा ठोस प्रगति बिना शान्ति सम्झौता सम्भव देखिँदैन।तर, रूसी कूटनीतिज्ञ युरी उशाकोभको पछिल्लो अभिव्यक्तिले केही सम्भावनाको ढोका खोलेको छ। उनका अनुसार “डोनबासमा रूसी वा युक्रेनी कुनै पनि सेना नहुन सक्ने अवस्था सम्भव छ”, यद्यपि उनले त्यो क्षेत्र रूसी संघकै हिस्सा रहने दाबी दोहोर्याए।
मार्च २०२२ देखि रूसको नियन्त्रणमा रहेको जापोरिज्झिया आणविक ऊर्जा केन्द्र अर्को ठूलो विवादको केन्द्र बनेको छ। युरोपकै सबैभन्दा ठूलो यो प्लान्टका छवटै रियाक्टर तीन वर्षभन्दा बढी समयदेखि ‘कोल्ड शटडाउन’ अवस्थामा छन्। हाल युक्रेनबाट आपूर्ति हुने बाह्य विद्युतले प्लान्टलाई सुरक्षित राखिएको छ, ताकि आणविक दुर्घटना नहोस्।यसलाई पुनः सञ्चालनमा ल्याउन ठूलो लगानी आवश्यक छ। विशेषगरी, प्लान्टलाई चिसो पानी आपूर्ति गर्ने काखोभ्का जलविद्युत बाँध पुनर्निर्माण नगरी सम्भव छैन। युक्रेन चाहन्छ—यो क्षेत्र पनि असैनिकीकरण गरी स्वतन्त्र आर्थिक क्षेत्र बनोस्।जेलेन्स्कीका अनुसार अमेरिकी प्रस्ताव भनेको यो प्लान्ट अमेरिका, रूस र युक्रेनको संयुक्त व्यवस्थापनमा ल्याउने हो। तर कीभले यसलाई अव्यवहारिक भन्दै अमेरिका–युक्रेनबीच ५०–५० साझेदारीको मोडल अघि सारेको छ, जसमा आधा विद्युत् कहाँ जाने भन्ने निर्णय अमेरिका गर्नेछ—संकेततः रूसतर्फ पनि।तर रूसको सरकारी आणविक निकाय रोसआटोमका प्रमुख अलेक्सेइ लिखाचेभले स्पष्ट रूपमा भनेका छन्—प्लान्ट सुरक्षित रूपमा सञ्चालन गर्न केवल रूस मात्र सक्षम छ। यद्यपि उनले अन्तर्राष्ट्रिय सहकार्य अन्तर्गत युक्रेनलाई विद्युत् उपलब्ध गराउन सकिने सम्भावना खुला राखेका छन्।यो विषयमा सम्झौता सम्भव देखिए पनि समस्या विश्वासको हो। दुई छिमेकी देशबीच विश्वासको स्तर लगभग शून्य छ।
ट्रम्पले पुटिन युक्रेन सफल होस् भन्ने चाहन्छन् भन्ने अभिव्यक्ति दिए पनि जेलेन्स्की त्यसप्रति विश्वस्त छैनन्। “म रूसलाई र पुटिनलाई विश्वास गर्दिनँ,” उनले स्पष्ट रूपमा भनेका छन्।उता रूसले पनि कीभमाथि विश्वास देखाएको छैन। नोभगोरोड क्षेत्रमा पुटिनको निवासतर्फ युक्रेनी ड्रोन आक्रमणको आरोप लगाइएको छ, यद्यपि कुनै प्रमाण सार्वजनिक गरिएको छैन। युक्रेनले घटना नै नभएको दाबी गर्दै यसलाई कीभमाथि थप आक्रमणको बहानाका रूपमा लिएको छ।यसबाहेक, युक्रेनले भविष्यमा रूसी आक्रमण भए नाटोजस्तै सुरक्षा प्रत्याभूति मागेको छ र ८ लाखको सैन्य शक्ति कायम राख्न चाहेको छ। तर रूसले युक्रेनमा युरोपेली सेना तैनाथ गर्ने प्रस्ताव अस्वीकार गरिसकेको छ।युद्धले युक्रेनलाई करिब ८ खर्ब डलर बराबरको क्षति पुर्याएको अनुमान छ। त्यसको क्षतिपूर्ति कसले कसरी दिने भन्ने अर्को विवाद हो। युरोपमा रोकिएका रूसका २१० अर्ब युरो बराबरका सम्पत्ति प्रयोग गर्ने अमेरिकी प्रस्तावमा पनि मस्को सहमत छैन।नाटो सदस्यता युक्रेनको संविधानमै उल्लेख भएकाले यो विषय पनि सहमतिको अर्को काँडो बनेको छ, यद्यपि तत्काल सदस्यता सम्भावना न्यून छ। युरोपेली संघ सदस्यतामा पनि दीर्घकालीन अनिश्चितता कायमै छ।
जेलेन्स्कीले जनमत सर्वेक्षण उद्धृत गर्दै ८७ प्रतिशत युक्रेनी शान्ति चाहन्छन् तर ८५ प्रतिशतले डोनबास छाड्न अस्वीकार गर्छन् भनेका छन्। त्यसैले, डोनेत्स्कको भविष्य र समग्र २० बुँदे योजनामा कुनै निर्णय जनमत संग्रहबिना सम्भव नहुने उनको तर्क छ। त्यसका लागि ६० दिनको युद्धविराम आवश्यक पर्ने उनले बताएका छन्।तर क्रेमलिनले अस्थायी युद्धविरामले मात्र द्वन्द्व लम्ब्याउने तर्क गरेको छ, जसमा ट्रम्पले पनि पुटिनको धारणा बुझ्ने संकेत दिएका छन्।यसरी, शान्ति सम्झौता नजिक देखिए पनि विश्वासको अभाव, भू–राजनीतिक महत्वाकांक्षा र घरेलु राजनीतिक बाध्यताहरूले वार्तालाई अझै कठिन बनाइरहेका छन्। समाधान सम्भव छ कि छैन भन्ने प्रश्नको उत्तर यी ‘काँडेदार मुद्दा’ कसरी सुल्झिन्छन् भन्नेमा निर्भर रहनेछ।