काठमाडौं। नेपाली रंगमञ्चमा एक नयाँ नाट्य प्रयोग ‘मीरा’ मार्फत बहुआयामिक अभिनेता विशाल देवकोटाले आफूलाई पुनः प्रमाणित गरेका छन्। कान्तिपुर थिएटरको पहिलो प्रस्तुति ‘मीरा’ मा देवकोटाको अभिनयले सम्पूर्ण नाटकलाई नै एक विशेष उचाइमा पुर्याएको छ।
उनी रंगमञ्चका लागि अपरिचित अनुहार होइनन्, तर यसपटक ‘मीरा’ मा उनले निभाएको भूमिकामा रहेको गहिरो भाव, सजीव प्रस्तुतिकरण र संवेदनात्मक गहिराइले दर्शकहरूलाई अन्तसम्म बाँधेर राख्न सफल भएको छ। विशेषगरी, सामाजिक संरचना र आत्मसंघर्षबीच तड्पिरहेकी मुख्य पात्रको कथामा विशाल देवकोटाले जीवन्तता भरेका छन्।
सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा बनेको ‘मीरा’ दीपक सिंजालीको उपन्यासमा आधारित छ। सोल्हौं शताब्दीकी भक्त कवि मीराबाईको मिथकलाई समकालीन सन्दर्भमा ढालेर प्रस्तुत गरिएको यो कथा प्रेम, वियोग, आत्मखोज र विद्रोहको जीवन्त प्रतिनिधित्व हो।
नाटकमा देवकोटासँगै रेखा थापाको रंगमञ्चीय डेब्यु पनि भएको छ। दुई दशकदेखि नेपाली सिनेमामा स्थापित नाम भएकी थापा थिएटरमा पहिलोपटक देखा परेकी हुन्। उनको नाटकीय ऊर्जा र समर्पणले रंगमञ्चमा उनको भविष्यका संभावना देखाउँछ।
नाटकमा विशाल पहारी (जो चार दशकपछि थिएटरमा फर्किएका छन्), बिन्दा खतिवडा, गीत विस्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्काको समेत सशक्त अभिनय देखिन्छ। तर, दर्शकको ध्यान बारम्बार विशाल देवकोटाको प्रस्तुतिमै केन्द्रित हुन्छ - उनी नाटकको मेरुदण्डझैं अनुभूति हुन्छन्।
‘मीरा’ जेठ १९ देखि असार ७ गतेसम्म, हरेक दिन (बुधबारबाहेक) साँझ ५:३० बजे गैरीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन हुँदैछ।