• Tuesday, March 3, 2026

भागबन्डाकै आधारमा सहमति हुँदा ‘सबै उस्तै’


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौंका मेयर बालेन्द्र शाहबीच आइतबार बिहान भएको सातबुँदे सहमतिले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । सहमतिअनुसार रास्वपा सभापति रवि लामिछाने पार्टीको केन्द्रीय नेतृत्व सम्हाल्ने र निर्वाचनपछि बालेन्द्र शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने उल्लेख छ । यो सहमतिले जेनजी पुस्तामा आशाको नयाँ सञ्चार गरेको छ । जेनजी फ्रन्टका सल्लाहकार सरोज गौतमले यो सहमतिलाई देउवा, ओली र दाहालको ‘म्युजिकल चेयर’ माथि खतराको घण्टी ठानेका छन् । उनले भारतमा २०१४ को मोदी वेभ जस्तै नेपालमा बालेन–रविको पक्षमा नयाँ वेभ आउने सम्भावना देखेका छन् ।

विश्लेषक चन्द्रदेव भट्टले पुराना दलहरूलाई ध्रुवीकरणतर्फ डोहोर्‍याउने र कांग्रेस, एमाले लगायतबीच गठबन्धनको सम्भावना बढ्ने विश्लेषण गरेका छन् । उनले यो मिलनले स्थापित दलहरूलाई चुनौती दिन सक्ने बताउँदै निर्वाचन परिणाम प्रभावित हुने तर ठोकुवा गर्न छिटो हुने धारणा राखे ।

यसैबीच, राजनीतिक दलहरूबीच एकीकरणको होडबाजी तीव्र बनेको छ । नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) सहित १६ दल मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेको छ । त्यस्तै, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि नेकपासँग एकीकृत भएको छ । पुष्पकमल दाहाल, माधवकुमार नेपाल र रञ्जिता श्रेष्ठले १० बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

मधेसवादी दलहरूमा पनि एकता प्रक्रिया अघि बढेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकता गर्ने सहमति भएको छ । यसअघि लोसपासँग हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लालको तराई मधेश लोकतान्त्रिक पार्टी एकीकृत भइसकेका छन् । जसपा नेपालबाट अलग भएका रेणु यादव र प्रदीप यादव पनि उपेन्द्र यादव पक्षमा फर्किएका छन् ।

विश्लेषक नीलाम्बर आचार्यले भागबन्डाकै आधारमा सहमति हुँदा ‘सबै उस्तै’ भन्ने सन्देश जाने भए पनि छरिएभन्दा मिल्नु राम्रो भएको बताएका छन् । उनले बलियो शक्ति निर्माणले लोकतन्त्रलाई मजबुत बनाउने धारणा राखे ।

यी एकता र सहमतिहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ समीकरण बन्ने संकेत गरेका छन् । वैकल्पिक शक्तिहरूको उदय र पुराना दलहरूको पुनर्गठनले चुनावी माहोल रोचक बन्दै गएको छ ।

Please Login to comment in the post!

you may also like