सन् १९९८ मा पहिलो पटक देखापरेको प्राणघातक निपाह भाइरसको संक्रमण नेपाल नजिकै भारतको पश्चिम बंगाल राज्यमा पुष्टि भएपछि नेपालसहित पूर्वी तथा दक्षिण एसियाका विभिन्न देशमा उच्च सतर्कता अपनाउन थालिएको छ। कोरोना महामारीको कहरबाट बल्ल बाहिर निस्कँदै गरेका देशहरू पुनः अर्को संक्रामक रोगको जोखिममा नपरोस् भन्ने उद्देश्यले हवाई तथा स्थल नाकामा निगरानी कडा बनाइएको हो।भारतको कोलकाता नजिकै रहेको एक अस्पतालका दुई स्वास्थ्यकर्मीमा निपाह भाइरस संक्रमण देखिएपछि उनीहरूलाई सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ। स्वास्थ्यकर्मीमै संक्रमण देखिनु थप चिन्ताको विषय बनेको छ, किनभने यसले अस्पतालभित्रै संक्रमण फैलिने जोखिम बढाउँछ। संक्रमितको सम्पर्कमा आएका करिब दुई सय जनालाई परीक्षण तथा निगरानीमा राखिएको भारतीय अधिकारीहरूले जनाएका छन्।निपाह भाइरसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्, जुन कोरोना भाइरसको तुलनामा निकै उच्च हो। अझ गम्भीर पक्ष के छ भने हालसम्म निपाह भाइरसविरुद्ध न त प्रभावकारी खोप बनेको छ न त निश्चित उपचार औषधि नै उपलब्ध छ। यही कारणले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निपाहलाई भविष्यमा महामारी फैलाउन सक्ने उच्च जोखिमयुक्त रोगहरूको सूचीमा राखेको छ।
नेपालसँग खुला सीमाजस्तै रहेको भारतको पश्चिम बंगाल राज्यमा संक्रमण देखिनु नेपालका लागि पनि चिन्ताको विषय बनेको छ। नेपाल–भारत सीमाबाट दैनिक हजारौँ मानिसहरूको आवतजावत हुने भएकाले संक्रमण सर्ने सम्भावना बढ्न सक्ने स्वास्थ्य विज्ञहरूको चेतावनी छ। यही जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले पूर्वी नाकासहित विभिन्न स्थल तथा हवाई प्रवेश बिन्दुमा स्वास्थ्य जाँच र निगरानीलाई कडाइ गरेको जनाएको छ।निपाह भाइरस मूलतः सुँगुर र फल खाने चमेराबाट मानिसमा सर्ने रोग हो। यो भाइरस पहिलो पटक मलेसियाको निपाह नामक गाउँमा सुँगुर पालक किसानहरूमा देखिएको थियो। त्यसबेला मलेसिया र सिंगापुरमा फैलिएको संक्रमणका कारण करिब एक सय जनाको मृत्यु भएको थियो। संक्रमण नियन्त्रणका लागि मलेसिया सरकारले करिब १० लाख सुँगुर नष्ट गर्नुपरेको थियो, जसले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको थियो।सन् २००१ यता निपाह भाइरसले बंगलादेशमा पनि निरन्तर समस्या सिर्जना गर्दै आएको छ। बेलायती सञ्चारमाध्यम गार्डियन र बीबीसीका अनुसार निपाह संक्रमणका कारण बंगलादेशमा हालसम्म एक सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ। भारतको पश्चिम बंगाल र दक्षिण भारतीय राज्य केरलामा पनि निपाह संक्रमण पटक–पटक देखिँदै आएको छ। केरलामा सन् २०१८ र सन् २०२३ मा भएको संक्रमणबाट केही मानिसको मृत्यु भएको थियो।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कार्यरत सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार निपाह भाइरस सुँगुर, चमेरा मात्र नभई कतिपय अवस्थामा घोडाबाट पनि मानिसमा सरेको पाइएको छ। ‘चमेरालाई निपाह भाइरसको प्राकृतिक भण्डार (रिजर्भोयर) मानिन्छ,’ उनले भने, ‘चमेराले खाएको जुठो फल वा त्यसले छोएको खानेकुराबाट पनि मानिसमा संक्रमण सर्न सक्छ।’डाक्टर पुनका अनुसार नेपालमा वनजंगल क्षेत्रमा फल खाने चमेरा प्रशस्त पाइने भएकाले जोखिमलाई हल्का रूपमा लिन नहुने अवस्था छ। चमेराले फलफूलमा छोडेको भाइरस जंगलमा काम गर्ने, घुमफिर गर्ने वा स्थानीय रूपमा फलफूल संकलन गर्ने मानिसमा सर्न सक्ने सम्भावना रहेको उनको भनाइ छ। त्यसैले बिरामी वा मरेका जनावरबाट टाढा रहन र फलफूल राम्ररी सफा गरेर मात्रै खान उनले सुझाव दिएका छन्।निपाह भाइरस मानिसको शरीरमा प्रवेश गरेपछि ४ देखि १४ दिनसम्म कुनै लक्षण नदेखिन सक्छ। प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुनेजस्ता समस्या देखिन्छन्। अवस्था गम्भीर हुँदै गएपछि सास फेर्न गाह्रो हुने, दिमाग सुन्निने (इन्सेफलाइटिस) जस्ता घातक लक्षण देखा पर्न सक्छन्, जसले बिरामीको ज्यानसमेत लिन सक्छ।
विश्व स्वास्थ्य संगठनले निपाह संक्रमणबाट जोगिन चमेरा तथा बिरामी जनावरसँग सम्पर्क नगर्न, फलफूल राम्ररी धोएर र बोक्रा ताछेर मात्र खान र काँचो खजुरको रस उमालेर मात्र सेवन गर्न सिफारिस गरेको छ। खजुरको रसमा चमेराले जुठो पार्ने गरेको पाइएकाले यसलाई संक्रमणको एक प्रमुख स्रोत मानिन्छ।नेपाल सरकारले भारतमा देखिएको संक्रमणलाई ध्यानमा राख्दै हवाई तथा स्थल नाकामा हेल्थ डेस्क स्थापना गरी ज्वरो तथा अन्य लक्षण देखिएका व्यक्तिलाई निगरानीमा राख्न थालेको जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार सम्भावित संक्रमितको उपचारका लागि अस्पतालसमेत तोकिसकिएको छ।हाललाई भारत सरकारले पश्चिम बंगालमा देखिएको निपाह संक्रमण नियन्त्रणमा आइसकेको दाबी गरे पनि विश्व स्वास्थ्य संगठनले भने दक्षिण एसिया क्षेत्रमा यसको जोखिम मूल्यांकन र निगरानी जारी रहेको जनाएको छ। विज्ञहरूले सतर्कता र जनचेतनालाई नै निपाह भाइरसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्।