• Tuesday, March 3, 2026

पश्चिमी न्यून चापीय प्रणाली कमजोर भएपछि जनजीवन सामान्य बन्दै



मंगलबार र बुधबार सक्रिय भएको पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदै बाहिरिएपछि देशभर प्रभावित जनजीवन शुक्रबारदेखि क्रमशः सामान्य बन्दै गएको छ। लगातारको वर्षा र हिमपातका कारण अवरुद्ध भएको यातायात सेवा तथा दैनिक गतिविधि मौसममा सुधार आएपछि सहज बन्दै गएको हो।हिमाली तथा उच्च पहाडी जिल्लामा बाक्लो हिउँ जम्दा अवरुद्ध भएका विभिन्न राजमार्ग तथा सडकहरू शुक्रबार साँझसम्म सञ्चालनमा ल्याइएको छ। सशस्त्र प्रहरीले मुस्ताङ जाने सडकखण्डमा थुप्रिएको हिउँ पन्छाएर यातायात सञ्चालनमा ल्याएको जनाएको छ। यस्तै, सुरक्षा निकायको सक्रियतामा अन्य क्षेत्रका अवरुद्ध सडकहरू पनि खुलाइएका छन्। बिहीबार अपराह्नदेखि मौसममा क्रमिक सुधार आएको र शुक्रबार बिहानैदेखि घाम लागेपछि जनजीवन सहज बनेको हो।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी न्यून चापीय प्रणाली बाहिरिएसँगै मौसम खुल्दै गए पनि बिहान र बेलुकाको समयमा चिसो भने कायमै रहनेछ। उनले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।उनका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहे पनि आइतबारसम्म मंगलबार र बुधबारजस्तो शक्तिशाली मौसमी प्रणालीको सम्भावना नरहेको छ।

पछिल्लो मौसमी प्रणालीका कारण काठमाडौँ उपत्यकासहित कोशी र मधेश प्रदेशबाहेकका अधिकांश भूभागमा वर्षा र हिमपात भएको थियो। यस अवधिमा सबैभन्दा बढी वर्षा सुर्खेतमा ४३ मिलिमिटर मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।शुक्रबार साँझ सार्वजनिक गरिएको मौसम बुलेटिनअनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस, जोमसोममा शून्य डिग्री र दोलखाको जिरीमा माइनस ०.८ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। यस्तै, काठमाडौँमा ४.८ डिग्री, ताप्लेजुङमा ५.९ डिग्री र दिपायलमा ५.५ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ।

Please Login to comment in the post!

you may also like