• Thursday, March 5, 2026

पहिलोपटक एशियन डजबलमा नेपाल : यात्राको जिम्मा इम्पाएर ट्राभल्स एन्ड टुर्सलाई


पालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै राष्ट्रिय खेलकुद क्षेत्रमा एक नयाँ मीलका पत्थर छोड्न तयारी गरेको छ। मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा मंसिर ४ देखि ७ गतेसम्म मलेसियामा सम्पन्न हुँदै गरेको यस महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन १८ सदस्यीय नेपाली राष्ट्रीय डजबल टोली मंगलबार विशेष उत्साहका साथ मलेसिया प्रस्थान गर्दैछ। प्रस्थानपूर्व आयोजित बिदाइ समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले टोलीलाई शुभकामना सहित बिदाइ गर्दै पहिलो सहभागितामै सशक्त उपस्थिति जनाउने आशा व्यक्त गरे।

यस ऐतिहासिक यात्रामा निजी क्षेत्रको सक्रिय सहयोगले टोलीलाई थप उत्साह प्रदान गरेको छ। जर्सी पुल मुख्य प्रायोजकका रूपमा जोडिएको छ भने इम्पाएर ट्राभल्स एन्ड टुर्स ट्राभल पार्टनरको रूपमा साथिनुले टोलीको व्यवस्थापन सहज भएको छ। साथै, जी स्पोर्ट्सले होम किट पार्टनरको भूमिका निर्वाह गरेको छ भने डिजिटल ल्याब ब्ल्याक आइ जर्नी प्रालि डिजिटल पार्टनरका रूपमा अभियानलाई आधुनिकता र प्रविधिमैत्री बनाएको छ। यी साझेदारहरूको समर्थनले नेपालको पहिलो अन्तर्राष्ट्रिय डजबल सहभागितालाई व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

कप्तान विराज दाहालको नेतृत्वमा प्रकाश सिंह ऐर, कृष्ण हरि बुढाथोकी, रबिन शाक्य, कृष्ण कुमार साह, अनिल कुमार तिखत्री, अनिल गुरुङ, विवेक उप्रेती, अच्युत नेपाल, रोशन अधिकारी, रामचन्द्र गौतम र विनोद कोईरालासहितको खेलाडी समूह उत्साही, अनुशासित र लक्ष्यमुखी आत्मविश्वासले भरिएको छ। टोलीले डजबल खेलमा नेपालको उदीयमान क्षमता प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय सतहमै सशक्त छाप छोड्ने लक्ष्य लिएको छ।

यस्तै, टोली प्रमुख राजन गौतम, व्यवस्थापक कौशल ज्ञवाली, सहायक व्यवस्थापक हिरामणी नेपाल, प्रशिक्षक तथा खेलाडी अरुण तिमल्सिना, ट्रेनर बेनु कुमार राई र मिडिया अफिसर सन्दीप रिजालसमेतको व्यवस्थापकीय समूहले खेलाडीहरूलाई आवश्यक निर्देशन, तालिम तथा समन्वय प्रदान गर्दै प्रतियोगितालाई सफल बनाउने दृढता व्यक्त गरेका छन्। नेपालले पहिलो सहभागितामै अनुभव, उत्साह र समर्पणको बलमा एशियन डजबल च्याम्पियनसिपमा प्रभावशाली प्रस्तुतिसहित राष्ट्रको गौरव उचो बनाउने विश्वास राखिएको छ।

Please Login to comment in the post!

you may also like