त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली टोलीलाई भव्य बिदाइ गरिएको छ। मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म आयोजना हुने उक्त प्रतिष्ठित प्रतियोगितामा १८ सदस्यीय नेपाली राष्ट्रिय टोली सहभागी हुँदैछ। बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रतिनिधि, खेलकुदकर्मी, समर्थक तथा परिवारजनको उत्साहपूर्ण उपस्थिति रह्यो। उनीहरूले खेलाडीहरूलाई फूलमाला, शुभकामना र देशका लागि उत्कृष्ट प्रदर्शनको अपेक्षासहित बिदाइ गरे।कप्तान विराज दाहालको नेतृत्वमा रहेको टोली पहिलो सहभागितामै प्रभावशाली उपस्थिति जनाउने लक्ष्यसहित मलेसियातर्फ उडेको हो।
टोलीका खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा डजबलमा नेपालको सम्भावना उजागर गर्ने अवसर पाएकोमा उत्साह व्यक्त गरे। यस अभियानमा जर्सी पुल मुख्य प्रायोजक, इम्पाएर ट्राभल्स एन्ड टुर्स ट्राभल पार्टनर, जी स्पोर्ट्स होम किट पार्टनर र डिजिटल ल्याब ब्ल्याक आइ जर्नी प्रालि डिजिटल पार्टनरका रूपमा जोडिएका छन्।टोली प्रमुख, व्यवस्थापक, प्रशिक्षक तथा अफिसियलहरूले यस सहभागिताले नेपालमा डजबलको लोकप्रियता र पहुँच बढ्ने विश्वास व्यक्त गरे। भव्य बिदाइले खेलाडीहरूको आत्मविश्वास थप उँचो बनाएको छ र नेपालको पहिलो एशियन डजबल यात्राले ऐतिहासिक सफलता दिलाउने अपेक्षा गरिएको छ