• Thursday, March 5, 2026

रणनीतिक कालीगण्डकी करिडोरमा पहिरो रोकथाम, यातायात सहज हुने अपेक्षा


चीन र भारतलाई जोड्ने रणनीतिक महत्वको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो तथा नदी कटान रोकथामका काम सुरु गरिएको छ। पहिरो र कटानका कारण वर्षेनी सडक अवरुद्ध भई नियमित यातायात सञ्चालनमा समस्या हुँदै आएको यस खण्डमा दीर्घकालीन समाधानका लागि सडक योजना कार्यालयले करिब २५ करोड रुपैयाँको लागतमा रोकथामका संरचनात्मक काम अघि बढाएको हो।

बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयका अनुसार रघुगंगा गाउँपालिका–२ अन्तर्गत तल्लो र माथिल्लो बैसरी, नागढुंगा, गुइठेभिर, खामभित्ता, लाटोखोला, रूपसे, सेतोखोला र लार्जुङ खण्डमा पहिरो तथा कटान रोकथाम योजना सञ्चालन भइरहेको छ। यी क्षेत्रहरूमा पहाडबाट खस्ने ढुंगा, माटो र कालीगण्डकी नदीको कटानले सडक जोखिममा पर्दै आएको थियो।योजना कार्यालयका सव–इञ्जिनियर बहादुर शाहले ठेक्का सम्झौता गरेका निर्माण कम्पनीहरूले चालु आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य तीव्ररूपमा अघि बढाइरहेको जानकारी दिए। उहाँका अनुसार ‘रक एंकरिङ’, ‘प्लम पर्खाल’, ‘बायो इञ्जिनियरिङ’ र ‘थिडिमेस’ प्रविधिको प्रयोग गरेर पहिरो नियन्त्रण गरिनेछ, जसले सडकको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको खामभित्ता क्षेत्रमा ३०० मिटर लामो सडक खण्डमा पहिरो रोकथामका लागि वाम्ती/कोण्डा/टिस्ता जेभीले ७ करोड रुपैयाँमा ठेक्का पाएको छ। त्यस्तै, सोही वडाको गुइठेभिर क्षेत्रमा ३०० मिटर सडक खण्डको पहिरो नियन्त्रणका लागि जिएसपिएल/वुद्धीसरा जेभीसँग ९ करोड रुपैयाँको ठेक्का सम्झौता भएको छ। यी क्षेत्रहरूमा पहिरोको जोखिम अत्यधिक रहेकाले प्राथमिकताका साथ काम भइरहेको योजना कार्यालयले जनाएको छ।यसैगरी, लाटोखोला, रूपसे, नागढुंगा र सेतोखोला खण्डको पहिरो रोकथामका लागि गजेन्द्र निर्माण सेवाले ७ करोड रुपैयाँमा ठेक्का पाएको छ भने तल्लो र माथिल्लो बैसरी क्षेत्रमा जिएसआई/हुटैराज जेभीले २ करोड रुपैयाँको ठेक्का लिएर काम गरिरहेको छ। रूपसे खण्डमा हालसम्म १६० मिटर दूरीमा ढलानको काम सम्पन्न भइसकेको छ भने लाटोखोलामा ‘रक एंकरिङ’ तथा सडक फराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको छ।

पहाडमा ड्रिलिङ गरी फलामका रड जडान गरेर कङ्क्रिटमार्फत बेस तयार गरी पक्की पर्खाल निर्माण गरिएको छ, जसबाट सडकको डिलतर्फ फराकिलो बनाइएको हो। ‘रक एंकरिङ’ प्रविधिअन्तर्गत फलामका रड राख्न विशेष प्वालहरू बनाइएका छन्। हाल सीजी ग्रुपले काम गरिरहेको ‘रक एंकरिङ’ खण्डमा ३.५ मिटर चौडाइको सडकमा एकतर्फी मात्र सवारीसाधन चल्ने अवस्था रहेकामा अब यसलाई ७ देखि ८ मिटर चौडाइमा विस्तार गरी दुईतर्फी यातायात सञ्चालन गर्ने लक्ष्य लिइएको छ।सडक, नाली र खोल्साबाट आउने पानीलाई व्यवस्थित रूपमा निकास दिन ह्युम पाइप प्रयोग गरी पानी व्यवस्थापन संरचना निर्माण गरिँदैछ। अन्नपूर्ण गाउँपालिका–३ दानाका वडाध्यक्ष रमेश पुर्जाले पहिरो रोकथामपछि सडकमा सवारीसाधनको आवतजावत सहज हुने र जोखिममा परेका बस्ती तथा सार्वजनिक संरचनाको संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले कालीगण्डकी करिडोर क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटकीय विकासमा यसले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गर्नुभयो।

Please Login to comment in the post!

you may also like