अहिलेको डिजिटल युगमा विशेषगरी युवा पुस्ता सामाजिक सञ्जालको प्रयोगमा अत्यन्त सक्रिय देखिन्छ। फेसबुक, टिकटक, एक्स, इन्स्टाग्रामलगायतका प्लेटफर्महरू युवाहरूका विचार, धारणा र अभिव्यक्ति प्रस्तुत गर्ने मुख्य माध्यम बनेका छन्। निर्वाचनको पूर्वसन्ध्याजस्तो संवेदनशील समयमा सामाजिक सञ्जाल प्रयोग झनै बढ्ने गरेको पाइन्छ। यस्ता समयमा सूचनाको आदानप्रदान तीव्र हुने भए पनि त्यससँगै गलत सूचना, अफवाह र नकारात्मक सामग्री फैलिने जोखिमसमेत बढ्दै गएको छ।
क्षणिक आवेगमा आएर अरूलाई गालीगलौज गर्ने, प्रमाणविनाका आरोप लगाउने, मित्थ्या सूचना सेअर गर्ने वा कसैको व्यक्तिगत चरित्रहत्या हुने खालका पोस्ट र सामग्री सामाजिक सञ्जालमा बढ्दै गएका छन्। कतिपय अवस्थामा प्रयोगकर्ताहरूले जानी–नजानी यस्ता सामग्री सेअर गर्ने गरेका छन्, जसले समाजमा द्वन्द्व, असहिष्णुता र अशान्ति निम्त्याउन सक्छ। यसप्रति सचेत रहन नेपाल प्रहरीले सबैलाई कडा चेतावनी दिएको छ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब उपरीक्षक अविनारायण काफ्लेका अनुसार हाल सामाजिक सञ्जालको उच्च निगरानी भइरहेको छ। सामाजिक सञ्जालमार्फत कानुनविपरीतका गतिविधि भएमा सम्बन्धित व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने उनले स्पष्ट पारे। उनका अनुसार सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न प्रहरीद्वारा छुट्टै टोली गठन गरी नियमित अनुगमन भइरहेको छ भने प्रहरीको साइबर ब्यूरोले समेत सूक्ष्म रूपमा डिजिटल गतिविधिहरूको निगरानी गरिरहेको छ।
प्रवक्ता काफ्लेले सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यम प्रयोग गरी गलत सूचना र भ्रम फैलाउने, जातीय, धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने, अरूको चरित्रहत्या गर्ने तथा शान्ति सुरक्षामा असर पार्ने खालका सामग्री उत्पादन, प्रकाशन र सेअर गर्नु कानुनअनुसार अपराध भएको जानकारी दिए। यस्ता गतिविधिले समाजमा नकारात्मक असर पार्ने भएकाले यसप्रति गम्भीर बन्न सबै नागरिकलाई आग्रह गरिएको छ।प्रहरीले कुनै पनि घटना, कसैको अभिव्यक्ति, तस्बिर वा भिडियोलाई झुटो, गलत वा भ्रमपूर्ण रूपमा काँटछाँट गरी अफवाह फैलाउने उद्देश्यले प्रयोग नगर्न आग्रह गरेको छ। साथै, यस्ता सामग्रीलाई लाइक, सेअर वा कमेन्ट गरेर प्रोत्साहन नगर्न पनि सबै सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरिएको छ। गलत सूचनाको फैलावट रोक्न प्रयोगकर्ताको सचेत भूमिका अत्यन्त महत्वपूर्ण हुने प्रहरीको भनाइ छ।
कानुनविपरीतका सामग्री उत्पादन गर्नु मात्र होइन, त्यसको प्रचार वा समर्थन गर्नु पनि अपराध भएको स्पष्ट पार्दै प्रवक्ता काफ्लेले अनलाइनमा देखिएका कुनै पनि पोस्ट सेअर गर्नुअघि त्यसको सत्यता र स्रोतबारे पुष्टि गर्न सबैलाई आग्रह गरे। सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवारीबोध आवश्यक रहेको र अभिव्यक्तिको स्वतन्त्रताका नाममा अरूको अधिकार हनन गर्न नपाइने उनले बताए।नेपाल प्रहरीले सार्वजनिक आह्वान गर्दै सुरक्षित, सभ्य र सकारात्मक डिजिटल वातावरण निर्माण गर्न सबै नागरिकको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेको छ। “जिम्मेवार नागरिक बनौँ, समाजमा शान्ति, सुरक्षा र सद्भाव कायम राख्न सबैले आ–आफ्नो स्थानबाट सहयोग गरौँ,” भन्ने सन्देश प्रहरीको छ। निर्वाचनजस्ता संवेदनशील समयमा संयमित र सचेत सामाजिक सञ्जाल प्रयोगले लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।